सेबोनले फेरि माग्यो नयाँ स्टक र कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्ज र बस्तु बिनिमय बजार कम्पनी स्थापनाका लागि इजाजत दिन पुनः आवेदन खुला गरेको छ । सेबोनले बिहीबार एक सूचना जारी गर्दै १० दिनको समय राखेर आवेदन माग गरेको हो ।

धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिस एवं वस्तु विनिमय बजार संचालन गर्न कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि बोर्डमा यसअघि ४५ दिनको समय राखेर असोज २ गते आवेदन माग गरेको थियो । तर लाइसेन्स रोक्न सर्वोच्च अदालतमा मुद्दा परेपछि कार्तिक ४ गते भएको अन्तरिम आदेश मार्फत इजाजत रोकिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले चुनावअघि परेको मुद्दामा चैत २६ गते आइतबार रिट खारेज गर्दै मार्ग प्रशस्त गरेपछि पाँच महिनादेखि रोकिएको इजाजत दिने प्रकृयामा सेबोनले पुनः आवेदन खुलाउने निर्णय गरेको हो ।

सेबोनको निर्णय बमोजिम नै एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका लागि १० दिनभित्र निवेदन पेश गर्न इच्छुक सरोकारवालाहरुसँग आवेदन माग गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।