आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगन्जका होटल व्यवसायी पलायन हुँदै

0
Shares

होटल व्यवसायी संघ बाँकेका अनुसार ठुला-साना सात सय हाराहारी व्यवसायीमा पाँच सयले मात्रै दर्ता नवीकरण गरेका छन्। आर्थिक मन्दी र बैंकको ऋणका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ। होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्काले मन्दीले व्यवसाय छाड्ने अवस्था आएको बताए।

उनका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ। एकातिर आम्दानी घट्दै छ, अर्कातिर लगानी गर्ने वातावरण नभएकाले व्यवसायी दिनप्रति दिन मर्कामा परेको अध्यक्ष खड्काको भनाइ छ।

‘नेपालगञ्जको ठूलो होटेल व्यवसायीमध्ये एक जना विस्थापित हुनुभयो। कोभिड पछि विस्तारै उहाँको व्यापार घट्दै गयो। होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन। आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुभयो,’ उनले भने। यस्तै अवस्था रहे धेरै व्यवसायी विस्थापित हुन सक्‍ने उनको आकलन छ।

२५ वर्षदेखि होटेल व्यवसायमा रहेका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा कमी आएको बताए। ‘योभन्दा पहिला यस्तो भएको थिएन। अहिले मैले मासिक होटेल भाडा ६६ हजार तिर्ने गरेको छु। मेरो आम्दानी दिनप्रति दिन घट्दै गइरहेको बेला कसरी भाडा तिर्ने रु’

व्यवसायी खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइदिने व्यवस्था गर्न आवश्यक रहेको बताए। आर्थिक मन्दीको समयमा घरबेटीले पनि घर भाडा बढाउनुको साटो घटाइदिए व्यवसायीलाई राहत हुने उनको जिकिर छ।

नेपालगञ्जका होटेल व्यवसायी मात्र नभई यहाँका साना ठूला सबै व्यापारी पनि बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकेको भन्दै उनीहरू मर्कामा परेका छन्। नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रति दिन सटर खाली हुन थालेका छन्। कोभिड-१९ को मारमा परेका व्यापारी गत फागुनदेखि यता झनै मारमा पर्न थालेका हुन्। गोदाम र पसलमा लाखौंका सामान स्टक छन् तर कारोबार ठप्प हुँदै गइरहेको व्यापारी बताउँछन्।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेण्ट बिक्री गर्न खोज्दा पनि किनीदिने मान्छे भेट्न नसकिएको गुनासो गर्दै होटल व्यवसायी रामु सेन्चुरी भन्छन् ‘होटल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन।’ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताए।

कोभिड-१९ र त्यसपछि उत्पन्न आर्थिक संकटले नेपालगन्जको व्यापार धरासायी बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए। ‘लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन्। यसले व्यापारी मर्कामा छौं। व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापित भइसकेका छन्,’ उनले भने।

संघका महासचिव चिरञ्जीवी ओलीले मर्कामा परेका व्यवसायीलाई सरकारका तर्फबाट देखिने गरी कुनै राहत पुग्न नसकेको बताए। व्यापारी मर्कामा पर्नुको कारण केवल बैंकको ब्याज तिर्न नसकेर मात्र नभई सरकारले पुँजीगत खर्च गर्न नसक्नु पनि रहेको उनको भनाइ छ। आर्थिक मन्दीकै कारण नेपालगञ्जमा २० प्रतिशत भाडाका सटर बन्द भएको उनले बताए।

महासचिव ओलीले ‘आर्थिक ईको सिस्टम’ लाई चाँडोभन्दा चाँडो अघि बढाएर व्यापारीलाई राहत दिन सरकारलाई आग्रह गरे। उनका अनुसार नेपालगन्जमा नौ हजारको हाराहारीमा विभिन्न व्यवसायिक फर्म छन्, नवीकरण जम्मा १२ सयले मात्र गरेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।