सरकारको आम्दानीले चालु खर्च धान्नै मुस्किल, लक्ष्यको आधा पनि उठेन राजस्व

0
Shares

चालु आर्थिक वर्षको ९ महिनाको अवधिको तथ्यांक हेर्दा सरकारको आम्दानीले चालु खर्च धान्नै मुस्किल पर्ने देखिएको छ । सरकारी राजस्व संकलन निराशाजनक हुँदा समग्र सरकारी आम्दानीमा असर परेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार साउनदेखि चैत मसान्तसम्म सरकारले ६ खर्ब ८३ अर्ब ८६ करोड आम्दानी गर्दा सो अवधिमा चालु खर्च मात्रै ७ खर्ब ६ अर्ब ८५ करोड गरेको छ । यसअवधिमा सरकारको आम्दानी भन्दा चालु खर्च मात्रै २२ अर्ब ९९ करोड बढी हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार साउनदेखि चैत मसान्तसम्म आउँदा सरकारले कुल ७ खर्ब २४ अर्ब ५३ करोड आम्दानी गरेको छ भने सो अवधिमा ९ खर्ब ४३ अर्ब १४ करोड खर्च भएको छ । ९ महिनामा सरकारको आम्दानी भन्दा खर्च २ खर्ब १८ अर्ब ६१ करोड बढी हो । सरकारी राजस्व संकलन निराशाजनक रहँदा समग्र सरकारी आम्दानीमा असर परेको हो ।

चालु आवको ९ महिनामा सरकारले बजेटमार्फत लिएको लक्ष्यको आधा पनि राजस्व उठ्न सकेको छैन् । बजेटमार्फत सरकारले कुल १४ खर्ब ३ रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९ महिना सकिदा ४८.७४ प्रतिशत अर्थात ६ खर्ब ८३ अर्ब ८६ करोड मात्रै संकलन भएको छ ।

सरकारले यस अवधिमा ७ खर्ब ६ अर्ब ८५ करोड चालु खर्च गरेको छ । चालु खर्च कुल लक्ष्यको ५९.७ प्रतिशत हो । त्यस्तै ९ महिनामा पुँजीगत खर्च जम्मा १ खर्ब ७ अर्ब मात्रै छ । यो लक्ष्यको २८.१९ प्रतिशत मात्रै हो । हरेक वर्ष सरकारले पूँजीगत खर्च बढाउने बताए पनि अपेक्षित रुपमा पुँजीगत खर्च हुन सकेको छैन् 

चालु आर्थिक वर्षको ९ महिनासम्ममा सरकारले लक्ष्यको २८ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा सरकारले २७ प्रतिशत पूँजीगत खर्च गरेको थियो। आर्थिक वर्षको अन्तिममा मात्र अत्याधिक बजेट खर्च गर्ने प्रबृत्ति यस वर्षै पनि उस्तै रहने देखिन्छ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ३ खर्ब ३७ अर्ब १० करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा उक्त राजस्व ९८ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा विभागले ३ खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको चैत महिनामा मात्रै विभागले ५५ अर्ब २ करोड ८० लाख रुपौयँ राजस्व संकलन गरेको छ ।

विभागले चैत मसान्तसम्म आयकर शीर्षकबाट एक अर्ब ५० करोड २० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, घरहाल कर शीर्षकबाट एक अर्ब ९७ करोड एक लाख, ब्याजबाट २५ अर्ब २१ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

त्यस्तै, यस अवधिमा भ्याटबाट ७८ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ, अन्तशुल्क शीर्षकबाट ७४ अर्ब २८ करोड रुपैयाँ, स्वास्थ्य सेवाबाट ५ अर्ब २५ करोड ६८ लाख रुपैयाँ र शिक्षा शीर्षकबाट एक अर्ब २६ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।