नौ महिनामा पौने २ खर्ब लगानीका २१६ उद्योग दर्ता, १६ हजार बढीलाई रोजगारी दिने प्रतिबद्धता

0
Shares

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिना अर्थात साउनदेखि चैत मसान्तसम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका २१६ उद्योग दर्ता भएका छन् । यी उद्योगमा १ खर्ब ८० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ । 

साउनदेखि चैतसम्म दर्ता भएका कुल उद्योग–परियोजनामध्ये ५२ वटा ठूला, ६० वटा मझौला र १०४ वटा साना गरी कुल २१६ रहेका छन् । जसमध्ये पछिल्लो महिना चैतमा मात्रै २५ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता सहित ३३ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । चैतमा दर्ता भएको ३३ मध्ये ५ वटा ठूला, ७ वटा मझौला र २१ वटा साना रहेको विभागले जनाएको छ ।

चैत मसान्तसम्म दर्ता भएका २१६ मध्ये उत्पादनमूलक उद्योग ८१ वटा, पर्यटनमूलक ४१ वटा, उर्जा तथा जलविद्युत सम्बन्धी ३८ वटा, सेवामा आधारित ३७ वटा, सूचना प्रविधिमा आधारित ८ वटा, कृषिमा आधारित ६ वटा, खानी उद्योग ४ वटा, र पुर्वाधारमा आधारित एउटा उद्योग दर्ता भएका हुन् । जसमध्ये चैत महिनामा उत्पादनमूलक उद्योग १२ वटा, सेवामा आधारित ७ वटा, पर्यटनमूलक ४ वटा, कृषिमा आधारित ३ वटा, उर्जा तथा जलविद्युत सम्बन्धी २ वटा,सूचना प्रविधिमा आधारित २ वटा, खानी उद्योग २ वटा र पुर्वाधारमा आधारित एउटा गरी कुल ३३ उद्योग दर्ता भएका हो ।

पछिल्लो समय अन्तरिक तथा बाह्य कारणले समग्र अर्थतन्त्रमा चरम मन्दी छाउँदा स्वदेशी तथा विदेशी लगानीमा समेत असर परेको छ । बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो ब्याजदर, तरलता अभाव, मूल्यवृद्धि र उभोक्ताको मागमा आएको गिरावट जस्ता कारणहरुबाट स्वदेशी लगानीकर्ता समेत लगानीका लागि उत्त्सहित नरहेका उद्योग विभागले जनाएको छ ।

नौं महिनामा दर्ता भएका उद्योगले १६ हजार ३६० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । यो तथ्याङ्क चैतमा दर्ता भई ३ हजार ६१२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका ३३ उद्योग सहितको हो । यस अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गर्ने उद्योग तथा परियोजनाको संख्या ६३ रहेको छ । चैतमा मात्रै २० उद्योगले आइई गरेका छन् ।

यस्तै, यस अवधिमा उद्योग विभागले १९२ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको जनाएको छ । यी परियोजनामा २८ अर्ब ११ करोड १८ लाख २३ हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । उद्योग विभागका अनुसार प्रस्तावित विदेशी लगानीका उद्योग–परियोजना सञ्चालनमा आउँदा १० हजार ९२७ जनाले रोजगारी पाउने उल्लेख छ ।

चैतमा ७ अर्ब ५५ करोड १८ लाख रुपैयाँ बराबरको विदेशी लगानीका ३३ परियोजना स्वीकृत गरेको जनाएको छ । जसमा १ हजार ४४९ जनाले रोजगारी पाउने जनाइएको छ । समीक्षा अवधिमा ३३ कम्पनीहरुबीच १३ अर्ब १० करोड ६ लाख मूल्यको सेयर खरिद।बिक्री वा हस्तान्तरण सम्झौता भएको छ । साथै चैतमा १६ सहित समीक्षा अवधिमा ५३ कम्पनीहरुले प्रविधि हस्तान्तरण सम्झौता गरेका छन् ।

चालु आवको ९ महिनाको अवधिमा उद्योग विभागमा ६ वटा प्याटेन्ट दर्ता भएको छ । यस्तै, ११ टा डिजाइन दर्ता भएका छन् भने २ हजार १७४ ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ । पछिल्लो नौं महिनामा ट्रेडमार्क सम्बन्धी मुद्दामा ८२ व्यक्ति–संस्था कारबाहीमा परेका छन् । जसमध्ये चैतमा मात्रै १४ व्यक्ति–संस्थालाई कारवार्ही गरिएको विभागले जनाएकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।