सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउँ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको अप्ठ्याराहरु र व्यवधान हटाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहजक, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएपनि केही नहुने अवस्थामा पुगि नसकेका बताए ।

“वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहजक, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं ।” उनले भने, “महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थव्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।”

सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन नसकेको राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्ने बताउँदै डा. महतले भने, “म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ । हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।”

उनले आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको बताए । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपथ्र्यो । तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो ।

हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौं, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण भएको अर्थमन्त्री डा. महतले बताए ।
यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’

निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा। महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो । अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।