नेपाल वायुसेवा निगमले आफ्नै आन्तरिक स्रोतबाट नियम अनुसार ३ वटा साना जहाज खरीद गर्न गठित उपसमितिले कार्य समेत सुरु गरेको छ ।
निगम सञ्चालक समितिद्धारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा गठन भएको ७ सदस्यीय उपसमितिले आफ्नो कार्य प्रारम्भ गरेको हो ।
निगमले आफ्नै आन्तरिक स्रोतबाट नियम अनुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग उक्त तीन वटा जहाज खरीद गर्न लागेको हो । दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने निर्णय अनुसार प्रकृया अगाडि बढाइएको निगमका उप निर्देशक तथा प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
यस कार्यमा विशेष पहल गरी यथासक्य छिटो जहाज खरीद कार्य सम्पन्न गर्नको लागि तथा कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ ।
निगमले खरिद गर्ने नयाँ ३ वटा जहाजहरुले नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्दा पर्यटन प्रवद्र्धन हुने निगमको विश्वास छ । साथै निगमको थप उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने निगमको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया