स्वदेशी अभियानमा आबद्ध सदस्यहरुले गर्ने निर्यातमा थप नगद अनुदान दिन परिसंघको माग

0
Shares

नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुले गर्ने निर्यातमा थप नगद अनुदान दिन माग गरेको छ ।

परिसंघले अर्थतन्त्रमा हाल आएको उच्च संकुचनले उद्योगी व्यवसायीहरुलाई हतोत्साहित बनाएको भन्दै मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुलाई स्वदेशीको सामूहिक लोगो प्रयोग गरेर निर्यात गर्दा थप एक प्रतिशत नगद अनुदान गर्न आग्रह गरेकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरुको उपस्थितीमा आइतबार राजधानीमा भएको स्वदेशी मिट एण्ड ग्रीट कार्यक्रममा स्वदेशी अभियानमा आबद्ध सदस्यहरुले स्वदेशी उद्योगहरुको समस्या एवं प्रबद्र्धनका लागि चालिनुपर्ने नीतिगत विषयमा पेश गरिएको सुझावमा यस्तो माग गरिएको हो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तुहरुको खपत बढाउनुपर्ने बताए । उनले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा सकारात्मक वातावरण निर्माण गर्न, उद्योगी व्यवसायीहरुमा उत्साहप्रद वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघ लागि परेको बताए । त्यसको एउटा महत्वपूर्ण उदाहरण मेक इन नेपाल स्वदेशी अभियान भएको उनको भनाई थियो । परिसंघले स्वदेशीको सामूहिक ट्रेड मार्कका लागि आवश्यक पहल थालिसकेको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले स्वदेशी वस्तुहरुको प्रयोग बढाउँदै निर्यात प्रबद्र्धन एवं आयात प्रतिस्थापनका लागि मेक इन नेपाल स्वदेशी अभियान महत्वपूर्ण रहेको बताए । उनले स्वदेशी उद्योगहरुको प्रबद्र्धनका लागि अवैध कारोबार रोक्नुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर थप फरक पार्नुपर्ने सुझाव कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले स्वदेशी उद्योगहरुको प्रवद्र्धनका लागि आगामी बजेट मार्फत गरिनुपर्ने सम्बोधनका विषयमा सुझाव दिन आग्रह गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले आर्थिक संमृद्धिका लागि निजी क्षेत्रसँगको समन्वय अपरिहार्य रहेको बताए । राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतमा झरेको भन्दै जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले मेक इन नेपाल स्वदेशीको सामूहिक टे«ड मार्क दिने प्रक्रिया जतिसक्दो चाँडो टुंगोमा पुर्याइने बताए । कार्यक्रममा स्वदेशी सदस्यहरुले उठाएका ड्यूटी ड्र ब्याकमा देखिएको समस्या आगामी बजेट मार्फत सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक लगानीको अनुमतीमा उल्लेख्य सुधार ल्याई तदारुकताका साथ विना अवरोध उद्योग दर्ता र एफडीआईको अनुमतिलाई सरलिकरण गरेको बताए ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकार समेतको सहभागितामा नेपाल उद्योग परिसंघले सञ्चालन गरेको मेक इन नेपाल स्वदेशी अभियानमा सहभागी स्वदेशी उद्योगी व्यवसायीहरुको समस्या, ठोस रुपमा समाधानको उपायसहित सदस्यहरुबीच नेटवर्किङ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले अर्थतन्त्रलाई बलियो बनाउने भन्नुहुँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उपभोग शैली पनि स्वदेशी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा स्वदेशीका सदस्यहरुबीचको वस्तु खरिद आदान प्रदान गर्ने, स्वदेशीका वस्तुबारे आम उपभोक्तालाई सहज एवं सरल रुपमा जानकारी गराउने उद्देश्यले बीटूबी वेभसाइटको लन्च गरिएको छ । उद्योग सचिव डा. ज्ञवाली र परिसंघका अध्यक्ष अग्रवालले संयुक्त रुपमा वेभसाइट शुभारम्भ गरेका छन् ।

कार्यक्रममा जुत्ता चप्पल उद्योग, मदिरा उद्योग, सूचना प्रविधि, स्टील तथा आल्मुनियम उद्योग, पेन्ट उद्योगका स्वदेशी सदस्यहरुले उद्योगहरुले भागिरहेको समस्या र समाधानका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।