एकताको ११ औं महाधिवेशनको लागि एनआरएनएको अपिल, यस्ता छन् १२ निर्णय

0
Shares

गैरआवसीय नेपाली संघ (एनआरएनए) ले एकताको ११ औं महाधिवेशनको अपिल गरेको छ । संघले अक्टोबर २०२३ मा हुने महाधिवेशनलाई एकताको महाधिवेशन गर्ने निर्णय गर्दै त्यसको लागि कार्यदल समेत गठन गरेको छ ।

संघका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर सन् २०२२ मा काठमाडौंमा भएको १० औं महाधिवेशनको अन्तिम आएर देखा परेका समस्याको समाधान गर्दै एकताको महाधिवेशनको लागि आफूहरु तयार रहेको तर विधि विधान भन्दा बाहिर नजाने बताएका छन् । १० औं महाधिवेशनको अन्तिममा देखा परेका समस्यालाई समाधान गरेर एकताको ११ औं महाधिवेशन गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

“२०२२ मा काठमाडौंमा संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आधिकारिक रुपमा सम्पन्न भएको थियो । तर महाधिवेशनलाई नमान्ने भन्दै केही साथीहरु महाधिवेशन छोडेर केही दिनपछि छुटै महाधिवेशन गर्ने गर्नुभयो । उहाँहरुबाट एकताको ११ औं महाधिवेशन संयुक्त रुपमा गर्ने भन्ने कुरा मौखिक रुपमा मात्रै हामीलाई आएको थियो । हामीले संघभित्र आपसी रुपमा घनिभूत रुपमा छलफल गरी १० औं महाधिवेशन समयमा हुन नसक्नुका कारण, विवादको मुललाई सुधार्दै एकताको महाधिवेशनको लागि तयार छौं । एकता नै संघको शक्ति हो भन्ने कुरामा हामी विश्वस्त छौं” जारी विज्ञप्तिमा भनिएको छ । साथै, विज्ञप्तिमा एकताको महाधिवेशनको विपक्षमा नभएको तर आधारभूत कुरा छोडेर सम्झौता नगर्ने बताइएको छ ।

संघले एकताको महाधिवेशनको लागि १२ बुँदे निर्णय समेत गरेको छ । प्रतिनिधिहरु एकताको महाधिवेशनमा भौतिक रुपमा उपस्थिति हुनुपर्ने, दुबै पक्षका सदस्यता नवीकरणको स्पष्ट खुल्नुपर्ने, अनलाइनबाट भोट नगर्ने, दुबै पक्षबाट पारित भएको सम्पूर्ण नियमावलीहरु खारेज हुनुपर्ने, १० औं महाधिवेशनलाई दुबै पक्षले स्वीकार गर्ने, दुबै पक्षको समान संख्यामा प्रतिनिधित्व हुनुपर्ने, दुबै पक्षबाट आएको नेतृत्वलाई समान अधिकार, बन्दसत्र अघि नै दुबै संघको विघटन गर्ने, दुबै पक्षका कार्यसमिति, पदाधिकारी, परिषद् सदस्य, मानार्थ सदस्य, सल्लाहकार मान्य हुने, आवद्ध तथा साझेदार संस्थाहरुमा समान संख्यमा महाधिवेशन समिति बनाउने लगायतका निर्णय पनि संघले गरेको छ ।

त्यसैगरी एकताका महाधिवेशनको लागि कार्यदल समेत गठन गरेको छ । महासचिव जानकी गुरुङको संयोजक रहेको कार्यदलमा उपाध्यक्ष सुरेन्द्र सिग्देल, सचिव कृष्ण केसी, प्रवक्ता प्रकाश धमला, धरम केसी सदस्य रहेका छन् । साथै, संघका गतिविधिहरु नियमित रुपमा सञ्चालन हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघको एकताको ११ औं महाधिवेशनबारे जारी गरेकाे विज्ञप्ति यस्ताे छः-

गैरआवासीय नेपाली संघका सम्पूर्ण अग्रज तथा गैरआवासीय नेपालीहरुमा नमस्कार !

गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन निवर्तमान अध्यक्ष कुमार पन्तज्युको नेतृत्वले अक्टुवर २०२१ मा सम्पन्न गर्न सकेन । त्यसपछि संघको बिधान र नेपाल सरकारको एनआरएन ऐन समेतलाई टेकेर संघ दर्ता भएको आधिकारीक निकाय नेपाल सरकार परराष्ट्र मन्त्रालयले संघका तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेज्युलाई संघको १० औं महाधिवेशन सम्पन्न गर्न पत्रचार गरी जिम्मेवारी दिएको थियो । सो जिम्मेवारीलाई तत्कालिन गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको ८१ औं बैठकले समेत पारित गरेको थियो । त्यहि अनुसारको जिम्मेवारीलाइ राष्ट्रिय समन्वय परिषदको भेलाले समेत अनुमोदन गरेर सोहि अनुसार गत वर्ष मार्च २०२२ मा काठमाण्डौंको होटल याक एण्ड यतिमा संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आधिकारीक रुपमा सम्पन्न भएको थियो ।

तर त्यस महाअधिवेशनलाई नमान्दै अन्तिम समयमा आएर महाधिवेशन छोडेर अन्यत्र गएर केही दिनपछि छुट्टै महाधिवेशन गर्ने साथीहरूबाट एकताको ११ औं महाधिवेशन संयुक्त गर्ने भन्ने कुरा मौखिक रुपमा मात्रै हामीलाई आएको थियो। हामी संघको उद्येश्य अनुरुप संघलाइ चुस्त, दुरुस्त, प्रकृया र पद्दतिमा चलाउनु पर्छ भन्ने अभियानमा पहिला पनि कटिबद्द थियौं र अहिले पनि छौं । तत् पश्चात हामीले संघभित्र आपसी रुपमा घनिभूत सर सल्लाह गरी केहि निर्णयहरू पनि गरेका छौं । केहि पटक अनौपचारिक रुपमा भेटघाट हुँदा हाम्रो तर्फबाट १० औं महाधिवेशन समयमा हुन नसक्नुका कारण, विद्यमान विवादको मूल जडलाइ सुधार्नुपर्ने लगायतकाहरू उठान गरी ती सबै विषयहरूको सम्बोधन गरेर मात्र एकताको महाधिवेशन गर्न सकिने कुरा मौखिक रुपमा जानकारी गराएका थियौं । तर आगामी दिनहरुमा फेरि पनि त्यस्ता खाले समस्याहरू नहोस् भनी ब्यापक छलफलबाट विधान संसोधन गरी ति विषयहरूको सम्बोधन हुनुपर्ने कुरा हाम्रो आधारभूत जोड थियो र छ । तत् अनुसार नै हामीले गत मार्च २०२२ को १० औं महाधिवेशनबाट विधानमा नै संसोधन गरेका थियौं, सोहि अनुसारका विषयहरूको सम्बोधन गर्दै १० औं महाधिवेशनबाट अन्यत्र गएका बाँकी साथीहरूलाई पनि ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा हाम्रो मुलधारमा ल्याउनको लागि हामी बीचमा मौखित सम्वादहरू गरेका थियौं।

एकता नै संघको शक्ति हो भन्ने कुरामा हामी विस्वस्त छौं। आजको आवश्यकता नै एकता हो भन्ने कुरामा पनि जानकार छौं। तसर्थ विद्यमान् मूल जडलाई सुधार गरेर जाने सहमति भएमा हामी एकताको विरोधी होईनौ । संघको बृहत्तर विकासको बाधक पनि हामी होइनौं, तर संस्था स्वस्थ र चुस्त रूपमा जानुपर्छ भन्ने पक्षमा चाहिं पहिले पनि थियौं र अहिले पनि छौं। नेपथ्यमा जे सुकै कुरा भएता पनि त्यसको कुनै आधिकारिकता हुँदैन । हामी एकताको ११ औं महाधिवेशन गर्ने कुराको विपक्षमा छैनौं तर आधारभूत कुरा छोडेर सम्झौता गर्नेपक्षमा पनि छौनौं । तर पनि संघको यस्तो विभाजित अवस्था आउनुका कारणहरु समेत पहिचान गरि संघको १० औं महाधिवेशनबाट हामीले संसोधन सहित पारित गरेको विधान समेतलाइ मानेर आगामी दिनमा संघमा फेरि सोहि पुरानो विकृतिको अवस्था नदोहोरीयोस् भन्नका लागि हाम्रो तर्फबाट निम्न विषयहरू अबलम्बन गरी हामी बीचमा आम सहमतिका साथ निर्णय गरी एकताको ११ औं महाधिवेशन निष्पक्ष र स्वस्थ रूपमा गर्न सकिने कुरा जानकारी गराउन चाहान्छौं । ११ औं महाधिवेशन एकताको महाधिवेशन भब्य सब्य गराउनको लागि हामी बीचमा यि विषयहरूमा निर्णय गरी कार्यान्वयन गर्ने सहमति हुन आवश्यक भएको जानकारी गराउँदछाैं ।

१. हामीले होटल याक एण्ड यतिमा सम्पन्न गरेको १० औं महाधिबेशनमा ब्यापक छलफल पश्चात संसोधन सहित पारित गरिएको विधानलाई मानेर जानुपर्ने ।

२. अक्टुवर २०२३ मा हुने एकताको ११ औं महाधिवेशन प्रतिनिधि हुनको लागि २०२३-२०२५ को लागि दुबै पक्षका नेतृत्वबाट सदस्यता नवीकरण गरेका सबै पञ्जीकृत सदस्यहरुले खुलेको फर्म भरेर, तोकिएको शुल्क तिरेर महाधिवेशन प्रतिनिधि हुन् पाउनेछन् ।  एकताको रुपमा सम्पन्न भएका राष्ट्रियस्तरका महाधिवेशनबाट चयन भएका नयाँ नेतृवले ती प्रतिनिधिहरुको सदस्यता नवीकरण हो या नयाँ त्यो भेरिफाइ गर्ने छन् ।

३. आगामी अक्टुवर २०२३ मा काठमाण्डौंमा हुने एकताको ११ औं महाधिवेशनको लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु भौतिक रुपमा नेपालमा उपस्थित हुनुपर्ने ।

४. प्रविधिको विरोध गरिएको होइन तर विद्यमान विवादको मूल जड नै महाधिवेशन प्रतिनिधि, निर्वाचन प्रणाली र नेतृत्व चयन भएकाले सोहि पुरानो प्रणालीमा जाँदा आपसी विश्वासमा संकट हुने भएकाले आसन्न ११ औं महाधिवेशनबाट चयन गरिने नेतृत्व अनलाइन भोटबाट नगर्ने, भौतिक रुपमा उपस्थित हुने महाधिवेशन प्रतिनिधिहरुले मात्र मत दिन या भोट गर्न पाउनेछन् ।

५. गैरआवसीय नेपाली संघका दुबै पक्षबाट तयार गरिएका, पारित भएका सम्पूर्ण नियमावलीहरु खारेज गर्ने । तत्काल आवश्यक पर्ने नियम, नियमावली सर्वसहमतिबाट तयार गर्ने ।

६. दुबै तर्फका १० औं अन्तर्राष्ट्रिय महाअधिवेशनहरुको अस्थित्वलाइ दुबै पक्षले समान रुपमा स्वीकार्ने । त्यसबाट चयन भएका दुबै पक्षका नेतृत्व, बाँकी पदमा गरिएका नियुक्तिहरु, अन्तर्राष्ट्रिय देखि संघका हरेक तह, देशसम्म सबैलाई सम्मानजनक रुपमा मान्यता दिने ।

७. संघको दुबै पक्षबाट एकताको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्वभरिका दुबै पक्षमा रहेका राष्ट्रियस्तरका परिषदहरुको एकताको महाधिवेशन आयोजना गर्न र गराउनको लागि अग्रज तथा आगामी नेतृत्वमा उमेरद्वार नहुने ब्याक्तिहरू तर वर्तमान समयमा पञ्जीकृत सदस्य रहेका मध्येबाट एक उच्च स्तरिय समिति बनाउने । समितीमा दुबै पक्षबाट समान संख्याबाट हुनेगरी नाम प्रस्ताव गरिने ।

८. दुबै पक्षको समान संख्यामा प्रतिनिधि हुनेगरी संयुक्त रुपमा ११ औं महाधिवेशन आयोजक र तयारी समिति बनाउने । सो समितिको संयोजकमा कुनै पक्षका पनि अध्यक्षले नेतृत्व नगर्ने । तर पूर्व अध्यक्ष, उपाध्यक्ष पदाधिकारी लगायतहरुको नेतृत्वमा गठन गर्ने ।

९. आवश्यक पर्ने बाँकी सबै समितिहरु जोर संख्यामा बनाउने । ति सबै समितिका संयोजकहरु दुबै पक्षका आधा-आधा (बराबरी) संख्यामा रहने। तर सबै समितिहरुमा सदस्यहरु भने दुबै पक्षबाट समान संख्यामा रहने । जस्तै प्रतिनिधि चयन, विधान, निर्वाचन, प्रचार(प्रसार, उच्चस्तरिय निर्वाचन पर्यवेक्षण समिति इत्यादी ।

१०. दुबै पक्षका नेतृत्वले समान रुपमा बराबरी अधिकार रहने गरी काम गर्ने । ती दुबै नेतृत्वलाइ एकताको ११ औं महाधिवेशन बन्दसत्रको पहिलो सेसनमा लगेर बिघटन गर्ने । त्यसपछि २०२१ २०२३ अबधिको दुबै पक्षका नेतृत्व निवर्तमान हुनेछन् ।

११. दुबै पक्षबाट भएका र गरिएका कार्यकारी सचिवालय, पदाधिकारी, अन्तर्राष्ट्रिय परिषद सदस्य, अन्तर्राष्ट्रिय परिषदमा मानार्थ सदस्य, सल्लाहकार तथा समितिहरु लगायत सबैखाले नियुक्तिहरु मान्य हुने ।

१२. सबै देशका एनआरएनएमा आबद्ध तथा साझेदार संस्था (निकाय, एनसीसी) हरुमा पनि माथि उल्लेखित गरे जस्तै संयुक्त रुपमा समान संख्यामा हुनेगरी महाधिवेशन गर्न गराउन तयारी समिति गठन गर्दै जान निर्देशन गर्ने ।

कार्यदल
१. संयोजक-महासचिव जानकी गुरुङ
२. सदस्य-उपाध्यक्ष सुरेन्द्र सिग्देल
३. सदस्य-सचिव कृष्ण केसी
४. सदस्य-प्रवक्ता प्रकाश धमला
५. सदस्य-सल्लाहकार धरम के सी

तत्काल संघका सम्पूर्ण गतिबिधिहरु नियमित रुपमा सञ्चालन हुनेछन् । उपरोक्त एकताको ११ औं महाधिवेशनको बिषयहरुलाइ मे ५, २०२३ सम्ममा निष्कर्षमा पुग्नुपर्ने निर्णय गरिएको छ ।

धन्यवाद:
महासचिव
जानकरी गुरुङ
गैरआवासीय नेपाली संघ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।