नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांशमा उच्च कटौति गरेको छ ।
लघुवित्त कम्पनीले चुक्ता पुँजीको ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेकोमा केन्द्रीय बैंक पठाएको थियो । तर राष्ट्र बैंकले ५५.७५ प्रतिशत बिन्दुले घटाएर बैशाख ४ गते सोमबार चुक्ता पुँजीको १७.९३४२ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।
लघुवित्तको सञ्चालक समितिको बैशाख ४ गते सोमबार साँझ सम्पन्न ७९ औं बैठकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । साथै राष्ट्र बैंकबाट प्राप्त भएको पत्र नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र वोर्ड लगायत सरोकारवाला निकायमा जानकारी गराउने निर्णय समेत बैठकबाट भएको छ ।
नेष्डो लघुवित्तको सोमबारको बैठकले राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिँदा समानता नभएको र नेपाल राष्ट्र बैंकवाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवं जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडि बढाउन नसकिने निर्णय कम्पनीले गरेको छ ।
राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रीय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने निर्णय सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।
नेष्डो समृद्ध लघुवित्तले चैत १२ गतेको ७७ औं बैठकबाट आर्थिक वर्ष २०७५।७६ बाट चार वर्ष अर्थात आव २०७८।७९ सम्मको सञ्चित मुनाफा ४१ करोड ८५ लाख ९४ हजारबाट चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश तथा बोनस र नगद लाभांको कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत (१८ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले प्रस्तावित लाभांश घटाएर बोनस र नगद लभांश गरी कुल चुक्ता पुँजीको १७.९३ प्रतिशत (कर प्रयोजन सहित) मात्र वितरण गर्न स्वीकृति दिएको हो ।
राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा कडाई गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा उक्त सीमाभन्दा माथिको लाभांशमा साधारण जगेडा, ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व वापत त्यस्तो लाभांशको ९५ प्रतिशत रकम जगेडा कोषमा राखेर मात्र लाभा.श वितरण गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।
नेष्डो समृद्ध लघुवित्तले भने उक्त व्यवस्थाहरु पालना गर्दै लाभांश प्रस्ताव गरिएपनि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको जनाएको छ । राष्ट्र बैंकको यो निर्णयमा लघुवित्त सञ्चालक समितिको बैठकले असन्तुसष्ट जनाएसँगै यो विषय अदालत पुग्ने भएको छ ।
प्रतिक्रिया