राजनैतिक नेतृत्वले मुलुकभित्र रोजगारी दिन नसक्दा वार्षिक ७ लाखभन्दा बढी नेपाली कामको खोजीका लागि नै विदेश पलायन हुने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ६१ हजार ४७८ नेपाली रोजगारीका लागि विदेशिएका हुन् । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिने समेतको संख्या हो ।
विभागका अनुसार विदेशिने संख्या चैतमा अघिल्लो महिना (फागुन) को तुलनामा भने केही कम देखिएको छ । फागुनमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका थिए । चैत महिनामा फागुनमा ५६ हजार ३४३ जना पुरुष र ५ हजार १३५ जना महिला कामको खोजीमा विदेशिएका छन् ।
यस अवधिमा म्यानपावर एजेन्सी मार्फत २७ हजार ८५५ जना युवा विदेशिएका छन् । कामको खोजीमा व्यक्तिगत रुपमा विदेश जाने नयाँ कामदारको संख्या ५ हजार ९४८ (४ हजार ७६२ जना पुरुष र १ हजार १८६ जना महिला) जना छन् । यस्तै दुई देशबीच हुने सरकार–सरकारबीच हुने सम्झौता (जीटूजी) मार्फत २ हजार २२७५ (२ हजार ९५ जना पुरुष र १८० जना महिला) जना युवा विदेश गएका छन् ।
व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २५ हजार ४०० जना (२३ हजार ९२३ जना पुरुष र १ हजार ४७७ जना महिला) रहेको छ । गत फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका थिए । साे अवधिमा म्यानपावर एजेन्सी मार्फत २९ हजार २८८ जना, व्यक्तिगत रुपमा ५ हजार ५३६ जना, जीटूजी मार्फत २ हजार १७० जना तथा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २४ हजार ८५१ जना विदेशीएका थिए ।
विदेशीनेमध्ये अधिकांश ‘दक्ष’ मात्र, १४ हजार बढी अदक्ष
वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्याङ्कमध्ये ६८ प्रतिशत युवा ‘दक्ष’ योग्यताको मात्र रहेका छन् । फागुनमा विदेशीएका कुल ६१ हजार ४७८ मध्ये ४१ हजार ७२९ युवा दक्ष योग्यताका मात्र रहेका छन् । जसमा ३८ हजार ६२३ जना पुरुष र ३ हजार १०६ जना महिला रहेका छन् ।
चैतमा नेपालबाट विदेशिनेमध्ये अदक्ष युवाको संख्या १४ हजार ३५३ जना रहेका छन् । जसमा १२ हजार ७७६ जना पुरुष र १ हजार ५७७ जना महिला विदेशिएका छन् ।
दक्षभन्दा माथिल्लो स्तरको ‘अर्ध दक्ष’ योग्यता भएका ५ हजार २९३ जना युवाले श्रम स्वीकृति लिएका छन् । यस्तै व्यवसायिक (प्रोफेसनल) योग्यता हासिल गरेका ८३ र उच्च दक्षता हासिल गरेका २० जना वैदेशिक रोजगारीमा विदेशिएको तथ्यांकले देखाएको छ ।
कुन मुलुकमा कति विदेशिए ?
विभागको तथ्यांक अनुसार चैत महिनामा मलेसियाका लागि १२ हजार १२९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै साउदी अरबमा ६ हजार १०४ जना, युनाइटेड अरब इमिरेट्समा ५ हजार ५५५ जना, कतारका लागि २ हजार ४९७ जना र जीटूजी सहित इपिएस मार्फत दक्षिण कोरियामा काम गर्नका लागि चैतमा २ हजार ३१० जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै कुवेतका लागि १ हजार ८८४ जना, रोमानियाका लागि १ हजार ४७५ जना, जापान ६०३ जना, क्रोएशिया ५१०, पोल्याण्ड ४६९, साइप्रस ३६२ र बहराइनका लागि ३२५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
बढी कुन जिल्लाका विदेशिए ?
विभागका अनुसार चैत महिनामा झापा जिल्लाबाट सबैभन्दा धेरै १ हजार ५२५ जना, धनुषाबाट १ हजार २११, मोरङबाट १ हजार २८२, रुपन्देहीबाट १ हजार ३८, महोत्तरीबाट ९३०, सर्लाहीबाट ९७० जना, सिराहाबाट ८९२, दाङबाट ९२६ विदेशिएका छन् ।
सुनसरी ८६५, बाग्लुङ्ग ८०८, चितवन ७९५, धादिङ्गबाट ६८१, गुल्मीबाट ५०४, स्याङ्जाबाट ६४७, कास्की जिल्लाबाट ४९५ जना, भोजपुरबाट ४९२ जना र काठमाण्डौंबाट ३२८ जना विदेशिएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया