पेट्रोलियम पदार्थ खरिदका लागि मात्रै बाहिरियो २ खर्ब रूपैयाँ बढी

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा पेट्रेलियम पदार्थ खरिदमा मुलुकबाट २ खर्ब ७ अर्ब रुपैयाँ बाहिरिएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासको खरिदमा देशबाट सो रकम बाहिरिएको हो ।

आर्थिक वर्षको चैतसम्म आयात भएको इन्धनबाट सरकारले ७३ अर्ब ७५ करोड राजस्व प्राप्त गरेको छ । विसं २०७८ चैतसम्म १ खर्ब ९८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको थियो । सो समयमा सरकारले ८२ अर्ब ४ करोड राजस्व संकलन गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि गत आवको तुलनामा चालु आवमा राजस्व संकलन ८ अर्ब २९ करोडले घटेको हो ।

चैत्र महिनासम्ममा १ खर्ब १२ अर्ब रुपैयाँको ९ लाख ५२ हजार किलो लिटर डिजेलको आयात भएको छ । यस्तै ४९ अर्ब ७४ करोड बराबरको ४ लाख ९९ हजार किलोलिटर पेट्रोल र ४४ अर्ब ८४ करोड बराबरको ३८ करोड ७६ लाख किलो एलपी ग्यास नेपालमा भित्रिएको छ ।

गत आवको चैत्र महिनासम्म १ खर्ब ५ अर्ब रुपैयाँको १३ लाख १ हजार किलो लिटर डिजेलको आयात भएको थियो । यस्तै ४७ अर्ब २३ करोड बराबरको ५ लाख ४९ हजार किलोलिटर पेट्रोल र ४५ अर्ब ३४ करोड बराबरको ३९ करोड ५७ लाख किलो एलपी ग्यास नेपालमा भित्रिएको थियो ।

सरकारले २०७९ को बैशाखदेखि पुससम्म विलासी सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । जसकारण गत आवको तुलनामा चालु आर्थिक वर्षमा डिजेल तथा पेट्रोलको आयात घटेको छ । यस्तै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेनेको युद्धपछि पेट्रोलियम वस्तुको बढ्दै गएको मूल्य केही कम हुँदै गएपछि सो वापत खर्च हुने रकम पनि घट्दै गएको हो ।

सरकारले केही वर्ष यता बजेट मार्फत विद्युतीय सवारी साधन प्रयोगमा जोड दिँदै लाग्ने भन्सार महसुल दरमा समेत सहुलियत दिएपनि पेट्रोलियम पदार्थको आयात भने अपेक्षित रुपमा घट्न सकेको छैन । नेपालको परिपेक्षमा चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टर लगायतको सुविधाहरुको अपर्याप्तका कारण विद्युतीय सवारी साधन चलाउनेहरुको संख्या वृद्धि हुन सकेको छैन । उपभोक्ताको रोजाइमा अहिले पनि पेट्रोलियम सवारी नै प्राथामिकतामा परिरहेका छन् । सोही अनुसार पेट्रोलियम सवारी सवारी नै बढी सञ्चालनमा छन् ।

युवा पुस्तामाझ ठूला सीसी क्षमताको मोटरसाइकल चढ्ने प्रचलन बढ्दा उपभोक्ताले चर्को मूल्य तिरेर पेट्रोल, डिजेल लगायतका इन्धन खरिद गर्नुपर्ने अवस्था छ । एकातिर अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घटबढ भइरहँदा उपभोक्ता आजित भइसकेका छन् । अर्कातिर भारतसँग पेट्रोलियमको परनिर्भरता न्यूनीकरण गर्न विकल्प खोज्नुपर्ने सरोकारवालाहरूले आवाज उठाउँदै आएका छन् । इन्धनको लागि नेपाल भारतमा नै निर्भर हुनुबाहेक तत्काल अन्य विकल्प छैन । मूल्यजति बढेपनि नेपालीले यी वस्तु आयात गर्नुपर्ने बाध्यता छ ।

नेपालमा आयात हुने धेरै वस्तु मध्ये पेट्रोलियम पदार्थको आयत अग्रस्थानमा पर्ने गर्दछ । यी वस्तुको आयातमा मात्रै वार्षिक खर्बौं रुपैयाँ खर्च हुँदै आएको छ । वार्षिक तथ्यांक हेर्दा करिब ३ खर्ब रुपैयाँ हाराहारी रकम इन्धनको आयातमै खर्च हुँदै आएको छ । हरेक वर्ष आयातको आकार र व्यापार घाटा बढ्दै जानुमा इन्धनको पनि ठूलो भूमिका रहन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।