विद्युतीय सवारीमा बढ्न थाल्याे क्रेजः चैतसम्म ७ अर्बको २ हजार ४५१ थान कार आयात

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को ९ महिना अर्थात चैत मसान्तसम्ममा नेपालमा ६ अर्ब ८४ करोड ८ लाख रुपैयाँ भन्सार मूल्य बराबरको २ हजार ४०० वटा बढी विद्युतीय कार आयात भएको छ ।

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण बढेको हो । पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो भएकाले विद्युतीय सवारी प्रयोगकर्ताको रोजाइमा परेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चैतसम्ममा एक सय किलोवाटसम्म क्षमताको २ हजार ३७९ वटा, एक सयदेखि २०० किलोवाटसम्मकोे ६५ वटा र दुई सय किलोवाटभन्दा बढी क्षमताको ७ वटा कार भित्रिएको हो । यी सवारी साधनहरुबाट सरकारले कुल १ अर्ब ९३ करोड रुपैयाँ राजश्व प्राप्त भएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भने २४९ वटा मात्रै आयात भएकोमा अघिल्लो आव २०७८/७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधनको आयात झण्डै चार गुणा बढेर १ हजार ८०७ वटा आयात भएका थिए । अघिल्लो आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय सवारीको आयात बढेको थियो । चालु आवको ९ महिनामा नै गत आवको तुलनामा ६४४ वटा बढी अर्थात २ हजार ४५१ वटा विद्युतीय सवारी नेपाल भित्रिएका हुन् ।

सरकारले केही वर्ष यता बजेट मार्फत विद्युतीय सवारी साधन प्रयोगमा जोड दिँदै लाग्ने यस्ता सवारी साधनमा लाग्ने भन्सार महसुल दरमा सहुलियत दिन थालेपछि क्रमशः विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै जान थालेको हो । साथै सरकारले विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि २०७९ को बैशाखदेखि पुससम्म पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप भ्यान जस्ता विलासी सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । सो कारणले पनि उपभोक्तालाई विद्युतीय सवारी साधनको प्रयोगमा धकेलेको अटाे व्यवसायीहरू बताउँछन् । विद्युतीय सवारी साधनको आयात र प्रयोग बढ्न थालेपछि पछिल्ला दिनहरुमा नेपालको परिपेक्षमा चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टर लगायतको सुविधाहरुको पनि थपिँदै जान थालेका छन् । यद्यपी अझै उपभोक्ताको रोजाइमा अहिले पनि पेट्रोलियम सवारी नै प्राथामिकतामा परिरहेकाले अझैपनि अपेक्षित रुपमा विद्युतीय सवारीको प्रयोग बढ्न सकेको छैन ।

भन्सार विभागकाे तथ्याङ्क अनुसार पछिल्लो ९ महिनामा नेपालमा ६ अर्ब ५२ करोड ८९ लाख बराबरको १०० किलोवाटसम्मका २ हजार ३७९ कारहरुको आयात गरिएको छ । यस्तै २७ करोड १२ लाख बराबरको १०० किलोवाट–२०० किलोवाटसम्मका ६५ विद्युतीय सवारी साधनको खरिद भएको भन्सार विभागको तथ्यांक छ । यस्तै २००–३०० किलोवाट सम्मका ७ वटा सवारी साधनको आयात गरिएको छ । उक्त ७ विद्युतीय सवारी साधनहरुको भन्सार मूल्य ४ करोड ७ लाख रुपैयाँ रहेको छ ।

नेपालमा आयात गरिएका विद्युतीय सवारी साधनबाट सरकारले १ अर्ब ९३ करोड बराबरको राजस्व संकलन गरेको छ । १०० किलोवाट सम्मको क्षमता भएका विद्युतीय सवारी साधनहरुको आयातमा सरकारले १ अर्ब ६२ करोड ५१ लख बराबरको राजस्व प्राप्त गरेको छ । यस्तै १००–२०० किलोवाट क्षमता भएका सवारी साधनको आयातमा राज्यले २४ करोड ८७ लाख राजस्व संकलन गरेको छ । साथै २००–३०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनको आयातमा राज्यकोषमा ५ करोड ७५ लाख बराबरको राजस्व संकलन भएको छ ।

समीक्षा अवधिमा ३०० किलोवाट भन्दा बढी क्षमताका कुनैपनि विद्युतीय सवारी साधनको आयात भएको छैन । सरकारले चालु आवको बजेटमा तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको थियो । त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको अन्तःशुल्क ४५ बाट बढाएर ६० प्रतिशत पु¥याइएको थियो । जसको कारणले चालु आर्थिक वर्षको ९ महिनामा यो क्षमताका विद्युतीय सवारी साधन आयात भएका छैनन् ।

आर्थिक ऐन मार्फत गरिएको व्यवस्था अनुसार एक सयदेखि २०० किलोवाट क्षमताको विद्युतीय सवारीको आयतामा ३० प्रतिशत भन्सारशुल्क र तेह्र प्रतिशत मुल्य अभिवृद्धि कर तथा दुई सयददेखि तीन सय किलोवाटसम्मको साधनमा ४५ भन्सारशुल्क र तेह्र प्रतिशत मुल्य अभिवृद्धि कर लगाउने गरेको छ । आर्थिक ऐन मार्फत एक सय देखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरेर ३० प्रतिशत र दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सारदर ३० प्रतिशत रहेकोमा वृद्धि गरेर ४५ प्रतिशत कायम गरेको हो ।

सरकारले १०० किलोवाटसम्मको विद्युतीय सवारी साधान आयातमा दश प्रतिशत भन्सारशुल्क र तेह्र प्रतिशत मुल्य अभिवृद्धि कर लगाउने गरेको छ । एक सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा भने अन्तःशुल्क लगाइएको छैन ।

५१ करोड ६९ लाखको विद्युतीय अटो , २८ करोडको चार्जर तथा  साढे १४ करोडको हाइब्रिड कार आयात 

भन्सार विभागको तथ्याङ्क अनुसार चैत महिनासम्ममा ५१ करोड ६९ लाख बराबरको ५ हजार २०१ वटा तीन पाङ्ग्रे सवारी (विद्युतीय अटो) साधन आयात भएका छन् । उक्त तीन पाङ्ग्रे सवारी साधनको आयातमा सरकारले १३ करोड ९८ लाख राजस्व प्राप्त गरेको छ । यस्तै सो अवधिमा एसेम्बल नभएका ४७९ तीन पाङ्ग्रे सवारी साधन नेपाल आयात गरिएको छ । ६ करोड ८९ लाख बराबरको अन–एसेम्बल्ड तीन पाङ्ग्रे सवारी साधनहरुबाट सरकारले १ करोड ४८ लाख राजस्व संकलन गरेको छ ।

यस्तै विद्युतीय सवारी साधन चार्ज गर्नका लागि आवश्यक पर्ने ८५ हजार ६५० वटा एसी/डिसी चार्जरको आयात गरिएको छ । २८ करोड २० लाख बराबरको एसी/डिसी चार्जर आयातबाट सरकारले २ करोड २ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।  यस्तै पछिल्लो समयमा हाइब्रिड सवारी साधन (विद्युतीय तथा पेट्रोल इन्जिनबाट चल्ने) कारहरुको प्रयोग नेपालमा समेत बढेको छ । पछिल्लो ९ महिनामा नेपालमा २ हजार सीसीका १२ वटा हाइब्रिड कारहरुको आयात भएको छ । २ करोड ८७ लाख प्राप्त भएको छ । यस्तै २ हजार सीसी माथिका २३ हाइब्रिड कारहरु आयत भएको छ । ११ करोड ७७ लाख रुपैयाँ भन्सार मूल्य बराबरको सवारी आयतबाट सरकारले २० करोड ५३ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

साउनदेखि चैतसम्मको अवधिमा विद्युतीय कार, तीनपांग्रे अटो, विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने हाइब्रिड कार र विद्युतीय कारलाई चार्ज गर्ने चार्जर गरी कुल १ लाख ३ हजार ८१६ वटा आयात भएका छन् । कुल ७ अर्ब ८५ करोड ५३ लाख ८ हजार भन्सार मूल्यको विद्युतीय सवारीजन्य सामाग्रीको आयतबाट सरकारले २ अर्ब ३६ करोड ६५ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।