चालु आर्थिक वर्षकोे तेस्रो त्रैमाससम्म देशभर सञ्चालनमा रहेका २७ नाकामध्ये चालु आवको ९ महिनासम्म ९ वटा भन्सार नाकाबाट निर्यात शून्य भएको छ । यस अवधिमा १८ भन्सारबाट निर्यात भएको छ ।
चैत मसान्तसम्म १८ भन्सार नाकाबाट १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रूपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । जुन कुल आयात (१२ खर्ब १ अर्ब ५१ करोड) रकमको ९.९४ प्रतिशत मात्र हुन आउँछ ।
भन्सार विभागका अनुसार भद्रपुर, जनकपुर, महेशपुर, राजविराज, सिराहा, सुनसरी, तातोपानी, थाडी, त्रिवेण्ी भन्सार नाकाहरुबाट निर्यात शून्य भएको हो । यस्तै सती, गौर र गौतमबुद्ध एरपोर्टबाट पनि नगन्य मात्रामा मात्र आयात भएको छ । यी नाकाबाट पनि एक करोड रुपैयाँभन्दा कम मात्र निर्यात भएको छ ।
चैत महिनासम्मको ९ महिना अवधिमा चार नाकाबाट सबैभन्दा बढी निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै विराटनगर नाकाबाट निर्यात भएको छ । विराटनगरबाट कुल निर्यातको २६.३६ प्रतिशत अर्थात ३१ अर्ब १८ करोड १ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ ।
यस्तै सबैभन्दा बढी निर्यात हुनेको दोस्रो स्थानमा वीरगञ्ज नाका रहेको छ । वीरगञ्जबाट कुल निर्यातको २४.६८ प्रतिशत अर्थात २९ अर्ब १९ करोड ७२ लाख ७५ हजार रुपैयाँको बराबरको वस्तु निर्यात भएको छ । वीरगञ्जपछि सबैभन्दा बढी निर्यात हुने तेस्रो स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो नाकाबाट कुल निर्यातको २२.१७ प्रतिशत अर्थात २६ अर्ब २१ करोड ९२ लाख ५८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।
मेची भन्सार नाका सबैभन्दा धेरै निर्यात हुने चौथो नाकाको रुपमा रहेको छ । यस नाकाबाट ९ महिनाको अवधिमा कुल निर्यातको १३.५५ प्रतिशत अर्थात १६ अर्ब ३ करोड १५ लाख ३० हजार रुपैयाँको निर्यात भएको छ । पाँचौं धेरै निर्यात भएको भैरहवा नाकाबाट चैतसम्म ७ अर्ब ५७ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु आयत भएको हो । यो नाकाले कुल निर्यातको ६.४० प्रतिशत हिस्सा ओगट्ने गर्दछ । निर्यातमा वीरगञ्जको डाइपोर्ट र नेपालगञ्ज नाकाको हिस्सा क्रमशः २.७४ र १.५३ प्रतिशत छ । चैतसम्म वीरगञ्ज डाइपोर्टबाट ३ अर्ब ६२ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
कुल निर्यातमा उच्च निर्यात गर्ने पाँच नाकाको हिस्सा ९३.१७ प्रतिशत रहेको छ । सो नाकाबाट मात्रै १ खर्ब १० अर्ब २० करोड रुपैयाँ निर्यात भएको छ ।
कुल आयातमध्ये पाँच नाकाको हिस्सा ८६ प्रतिशत बढी
चालु आर्थिक वर्षको ९ महिना अवधिमा अन्य देशहरुबाट नेपाल आयात हुनेमा पाँच भन्सार नाका अगाडि देखिएका छन् । ती नाकाहरुमा वीरगन्ज, भैरहवा, डाइपोर्ट, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
चैतसम्म २७ नाकाबाट कुल १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । जसमा पाँचवटा नाकाबाट मात्रै १० खर्ब ३३ अर्ब ८७ करोड २६ लाख ७८ हजार बराबरको आयात भएको हो । २७ नाकामध्ये पाँचवटा नाकाले नै कुल आयातको ८६.०५ प्रतिशत ओगटेको छ ।
आयात हुने भन्सारको पहिलो नम्बरमा रहेको वीरगञ्ज नाकाबाट मात्रै चैतसम्म ४ खर्ब ४३ अर्ब ७२ करोड ४५ लाख ५७ हजार रुपैयाँको आयात भएको छ । यो कुल आयातको ३६.९३ प्रतिशत हो । त्यसैगरी सबैभन्दा बढी आयात हुने नाकाको दोस्रो स्थानमा भैरहवा नाका रहेको छ । भैरहवाबाट १ खर्ब ७६ अर्ब ७५ करोड १७ हजार रुपैयाँको आयात भएको छ । यो कुल आयातको १४.७१ प्रतिशत हो ।
भैरहवापछि सबैभन्दा धेरै आयात हुने अर्को नाका वीरगञ्जको सुख्खा बन्दरगाह (डाइपोर्ट) हो । उक्त डाइपोर्टबाट १ खर्ब ५२ अर्ब ३५ करोड ८७ लाख ९१ हजार रुपैयाँ बराबारको सामान आयात भएको छ । यो कुल आयातको १२.६८ प्रतिशत हो । ड्राइपोर्टपछि सबैभन्दा धेरै आयात हुने नाका विराटनगर हो । विराटनगरबाट ९ महिनाको अवधिमा १ खर्ब ४१ अर्ब १५ करोड ८३ लाख २९ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११.७५ प्रतिशत हो ।
यस्तै विराटनगरपछि सबैभन्दा बढी आयात हुनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलबाट आठ महिनाको अवधिमा १ अर्ब १९ खर्ब ८८ करोड ९ लाख ८४ हजार रुपैयाको वस्तु तथा सामानको आयात भएको छ । यो कुल आयातको ९.९८ प्रतिशत हो । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैतसम्मको अवधिमा कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको वैदेशिक व्यfपार भएको छ । आयतको तुलनामा निर्यात न्यून हुँदा यस अवधिमा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
भन्सार विभाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको ९ महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा १८.०८ प्रतिशत (२ खर्ब ६५ अर्ब १५ करोड ) ले आयात घटेको छ । चैत मसान्ज्तसम्म कुल १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड २ लाख हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया