होटल मेरियटको वार्षिक आम्दानी १ अर्ब बढी, २४३ प्रतिशतले बढ्यो

0
Shares

पाँच तारे होटल मेरियटको सञ्चालन आम्दानी सन् २०२१ के तुलनामा आकर्षक रुपमा वृद्धि भएको छ । काठमाडौँको नक्सालमा रहेको उक्त होटलले सन् २०२२ मा मात्रै २४३ प्रतिशतले सञ्चालन आम्दानी वृद्धि गरेको हो ।

सन् २०२१ मा २९ करोड ९० लाख सञ्चालन आम्दानी गरेको होटलको आम्दानी सन् २०२२ मा ७२ करोड १० लाख रुपैयाँले बढेर १ अर्ब २ करोड पुगेको हो ।

एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडले सन् २०१३ मा होटल मेरियटको स्थापना सुरु गरी निर्माण सम्पन्न पश्चात सञ्चालन गरिरहेको छ । कोभिडको समयमा कर्पोरेट हाउस बन्दको अवस्थामा थिए । जसकारण गोष्ठी, बैठक भर्चुअल माध्यमबाट नै सञ्चालन भइरहेका थिए । तर कोभिड–१९ संक्रमण कम हुँदै गएपछि अनलाइन माध्यमबाट सञ्चालन भइरहेका कन्फेरेन्स, गोष्ठी, बैठक, तालिम भौतिक रुपमा नै सुचारु भएका छन् । यसले होटलको आम्दानीमा गुणात्मक रुपमा वृद्धि भएको छ ।

कुल १.३५ एकर्ड जमिनमा निर्माण भएको उक्त होटलमा २१४ वटा रुम, सभाहल, क्यासिनो, स्पा, स्वीमिङ पूल लगायतका सुविधा उपलब्ध छन् । होटलले प्रदान गर्ने विभिन्न सुविधाका कारण आन्तरिक पर्यटकका साथै अन्तर्राष्ट्रिय पर्यटक र कर्पोरेट हाउसहरुको रोजाइमा मेरियट होटल पर्ने गरेको छ । जसकारण होटलको आम्दानी काेिभड पछिको समयमा आकर्षक शैलीमा बढेको छ ।

मेरियट होटलमा नेपालको व्यापारिक घराना एमएस ग्रुप अफ कम्पनीजको लगानी रहेको छ । एमएस ग्रुप अफ कम्पनीज नै होटलको प्रमोटर समेत रहेको छ । होटलको अध्यक्ष सुमित क्ुमार अग्रवाल रहेका छन् भने प्रबन्ध निर्देशक गौरव अग्रवालको लगानी रहेको छ । होटलको अध्यक्ष रहेका सुमित कुमार अग्रवाल भगवती स्टील इन्डष्ट्रिजका अध्यक्ष समेत रहेका छन् । होटल, स्टील, चिनी उत्पादन, टेक्सटाइल, रियल स्टेट, बैंकिङ, बीमा लगायतका विविध क्षेत्रमा एमएस ग्रुपको लगानी रहेको छ ।

एमएस ग्रुपको लगानीमा स्थापना भएको मेरियट होटलको कार्य सम्पादन गौरव अग्रवालले गर्दै आएका छन् । कुल २ अर्ब ८२ करोड ३६ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि होटलले रेटिङ गराएको छ । २ अर्ब ७२ करोड ३६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले ट्रिपल बी माइन्स रेटिङ गरेको छ । यस्तै १० करोड बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए–३ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।