अख्तियार निजी क्षेत्र निरुत्साहित गर्ने अर्को एक तह बन्नसक्छ: पूर्व प्रधानमन्त्री ओली

0
Shares

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तिार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र हेर्ने गरि व्यवस्था भएमा निजी क्षेत्रको थप एक नियामक थपिने र यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबारको भेटका क्रममा पूर्वप्रधानमन्त्री ओलीले उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बेलासम्म पनि आफूलाई जानकारी नभएको बताए ।

राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका थिए । अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढि लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिने तर्पm अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए ।

संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन । यसबारे महासंघले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षा एवं कानुन मन्त्री पूर्ण बहादुर खड्काको पनि ध्यानाकर्षण गराइसकेको छ । भेटका क्रममा प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने हुँदा उक्त व्यवस्था हटाउने प्रतिबद्धता जनाएका थिए ।

यसै बिषयमा बिहीबार कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरुले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याएर अर्थतन्त्र थप जोखिममा पार्न नहुने धारणा राखेका थिए ।  यसैगरि पूर्व प्रधानमन्त्री ओलीसँंगको भेटमा बैंकिङ्ग प्रणालीमा करिब दुई खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुेपर्नेतर्फ अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

साथै, बजार अझै चलायमान नभैसकेको अवस्थामा ऋणको पुर्नसंरचना एवं पुर्नतालिकीकरण पनि आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड थियो । ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको छ । बैंकहरुको खराब कर्जा अनुपात पनि ४ प्रतिशत हाराहारी पुगिसकेको छ । असार मसान्तमा यो बढ्ने सम्भावना भएको हुँदा कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

भेटमा पूर्व प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या सम्बोधन गरि निर्वाध काम गर्ने वातावरण बनाउन आफू र आफ्नो पार्टि सधै तत्पर रहेको बताएका थिए । वित्तीय क्षेत्रका समस्या समाधान गरि कर्जा प्रवाह बढाउनुपर्ने पक्षमा आफू रहेको जानकारी पनि उनले गराए ।

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।