सगरमाथा आरोहणका लागि मात्रै ४५४ जनाले लिए अनुमति, ६३ करोड बढी रोयल्टी संकलन

0
Shares

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्षको बसन्तकालीन यामको लागि मात्रै ६१ देशका ४५४ जनाले अनुमति लिएका छन् । ३६१ पुरुष र ९३ महिला गरी कुल ४५४ जनाले अनुमति लिएका हुन् । यो वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्ने टोलीहरुको सङ्ख्या ४१ वटा रहेको छ ।

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तगर्तको पर्यटन विभागले प्रकाशन गरेको तथ्यांक अनुसार अप्रिल २१ सम्ममा १२ जना नेपाली सहित ४४२ जनाले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका हुन् । सगरमाथा आरोहणका लागि अनुमति लिएका नागरिकहरुबाट राज्यले ४८ लाख ६४ हजार २९१ डलर अर्थात् ६३ करोड ७४ लाख १३ हजार ७९ नेपाली रुपैयाँ रोयल्टी संकलन भएको छ ।

अन्य २२ वटा हिमाल आरोहणका लागि ५५१ जनालाई अनुमति दिए वापत ७ लाख ५७ हजार २२५ डलर अर्थात् ९ करोड ९२ लाख १२ हजार ३३९ रुपैयाँ संकलन गरेको छ ।

सगरमाथा आरोहणका लागि यो वर्षको बसन्त याममा सगरमाथा आरोहण गर्ने नागरिकहरुमा सबैभन्दा धेरै चिनियाँ र त्यसपछि अमेरिकी नागरिक रहेका छन् । ७१ पुरुष र २५ महिला गरी चीनका कुल ९६ नागरिक वसन्त याममा सगरमाथा आरोहण गर्नका लागि अनुमति लिएका छन् । यस्तै ७४ पुरुष र १३ महिला गरी ८७ अमेरिकी नागरिकहरु हिमाल आरोहण गर्न पर्यटन बोर्डबाट अनुमति लिएका छन् । नेपालबाट १२ जनाले सगरमाथा आरोहण गर्नका लागि अनुमति लिएका छन् ।

सगरमाथा बाहेकका अन्य २२ हिमालका आरोहणका लागि ५५१ जनाले अनुमति लिएका छन् । जसबाट पर्यटन विभागले ९ करोड ९२ लाख रोयल्टी संकलन गरेको छ । ८ हजार मिटर माथि उचाई भएका ७ हिमालको आरोहणका लागि ७५३ जनाले अनुमति लिएका छन् । ८ हजार ८४८ दशमलव ८६ उचाइ भएको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४५४, ८ हजार ५८६ मिटर उचाइ भएको कन्चनजंगा हिमाल आरोहणका लागि ४२, ८ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि ९५, ८ हजार ४६३ मिटर उचाइ रहेको मकालु १ हिमाल आरोहणका लागि ५८, ८ हजार १६७ मिटर उचाइ भएको धौलागिरी हिमाल आरोहणका लागि ३५, ८ हजार १६३ मिटर उचाइको मनास्लु आरोहणका लागि १५ र ८ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण १ आरोहणका लागि ५४ जनाले अनुमति पाएका छन् ।

विभागले हालसम्म विभिन्न २३ वटा हिमाल आरोहणका लागि १०७ वटा टोलीलाई अनुमति दिइएको छ । विभागले १ हजार ५ जनालाई अनुमति दिएवापत ५६ लाख २१ हजार ५१६ डलर अर्थात ७३ करोड ६६ लाख २५ हजार ४०८ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।