दुई कम्पनीको २५ लाख ७१ हजार कित्ता सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दुई निर्जीवन बीमा कम्पनीको कुल २५ लाख ७१ हजार ३४३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले वितरण गरेका बोनस सेयर आज सूचीकृत भएको हो ।

नेप्सेका अनुसार साविक सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजीको १२.४० प्रतिशत दरका हुन आउने १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता बोनस र साविक लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजीको ६.९९ प्रतिशत दरका हुन आउने कुल ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनस गरी कुल २५ लाख ७१ हजार ३४३ कित्ता बोनस सेयर मंगलबार सूचीकृत भएको हो ।

सूचीकृत दुबै कम्पनी हाल एक आपसमा मर्जर सम्पन्न गरी फागुन २९ गतेदेखि ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स’ को नाम अर्थात् (सलिको) नामबाट एकीकृत कारोबार गर्दै आइरहेका छन् ।

सूचीकृत दुबै कम्पनीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । बोनस पश्चात कायम हुने सेयर संख्या र दुई कम्पनीबीच निर्धारण भएको सेयर स्वाप रेसियोका आधारमा कायम हुने सेयर सलिको नाममा सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ ।

विसं २०७९ फागुन ११ गते सम्पन्न भएको सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा तथा लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभाबाट उल्लेखित बोनस वितरण गर्ने प्रस्ताव पारित गरेका थिए । बुकक्लोज अनुसार २०७९ माघ २६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका दुबै कम्पनीका सेयरधनीले मात्र बोनस पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।