बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईसहित ३६ कम्पनीलाई कर तिर्न १५ दिने अल्टिमेटम

Archana Neupane
0
Shares

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने बि.एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईसहित ३६ कम्पनीलाइ १५ दिने अल्टिमेटम दिएको छ ।

पटक पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्य अभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ ।

कार्यालयले आयकर र मूल्य अभिवृद्धि कर दुवै दाखिला नगर्ने ६ कम्पनी, आयकर मात्र नतिर्ने २ कम्पनी र मूल्य अभिवृद्धि कर नतिर्ने २८ कम्पनी गरी जम्मा ३६ कम्पनीको नाम सार्वजनिक गरेको हो ।

आयकर नतिर्नेमा चामुण्डा ईन्टरप्राइजेज, बि.एण्ड सी मेडिकल कलेज(टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर) रहेका छन् । चामुण्डा ईन्टरप्राइजेजका सञ्चालक रविन्द्र कुमार जैन हुन् भने (टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक दुर्गा प्रसाद प्रसाई र इन्दिरा गिरी हुन् ।

यस्तै मूल्य अभिवृद्धि कर नतिर्नेमा पाथिभरा इन्टिेरियर एण्ड कन्ट्रक्सन प्रा.लि, मित्तर वायर इण्डष्ट्रिड प्रा.ली, सूर्य बेलका जेभी, युवराज निर्माण सेवा, सुर्य बेलका जे.भीलगायत रहेका छन् । आयकर र मूल्य अभिवृद्धि कर दुवै दाखिला नगर्नेमा कान्छाराम ज्वोती जेभी,कपिल टे«ण्डर्स एण्ड सप्लायर्स शिव स्टोस,तामाङ ,शिवाको,राजधानी जेभी, मित्तर टी स्टेट प्रा.ली रहेका छन् ।

यी कम्पनीहरुलाई १५ दिनभित्र बक्यौता दाखिला गरी सोको प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेस गर्न सूचनामा भनिएको छ ।

आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ ।

त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानुनी प्रबन्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।