प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले बैशाखको अन्तिम सातादेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
मर्जर सहमतिपत्रमा हस्ताक्षर गरेको एक वर्षपछि यी तीनवटै कम्पनीहरुले बैशाख २६ गते मंगलबारदेखि नयाँ नाम ‘ हिमालयन लाइफ इन्स्योरेन्स’ बाट एकीकृत कारोबार थाल्न लागेका हुन् । जीवन बीमा कम्पनीको इतिहासमै पहिलो पटक तीन कम्पनीले गत वैशाख २९ गते बिग मर्जरको सम्झौता गरेका थिए ।
मर्जरको अन्तिम सम्झौतापत्रमा तीनवटै कम्पनीका अध्यक्षहरु युनियन लाइफको तर्फबाट शुलभ अग्रवाल, प्राइम लाइफको तर्फबाट पियुस राज अर्याल र गुराँस लाइफको तर्फबाट विवेक दुगडले होटल अलफ्ट ठमेलमा २०७९ माघ १ गते हस्ताक्षर गरेका थिए । एकीकृत कारोबारका लागि तीनवटै कम्पनीले साधारण सभा तथा विशेष साधारण सभा सकिए लगत्तै बीमा प्राधिकरण समक्ष अन्तिम स्वीकृति माग गरेका थिए । अन्तिम स्वीकृति मागे लगत्तै प्राधिकरणले अन्तिम स्वीकृति दिएको हो ।
बराबरी हैसियतमा मर्जरमा गएका तीन कम्पनीले मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्नेेछन् । तीन कम्पनीले डीडीएका आधारमा स्वाप रेसियो १ः१ः१ का आधारमा मर्जर हुने निर्णय गरेका छन् ।
‘यहि मे ९ तारिख देखी एकीकृत कारोबार गर्ने योजना बनेको छ । योजना अनुकुल भए सोही दिनदेखी एकीकृत कारोबार सुरु गछौं’, मर्जर कमिटीका एक सदस्यले नोटबजारसँग भने । मर्जरपछि हिमालयन लाइफमा कुल कर्मचारी सङख्या ९०० हाराहारीमा पुग्नेछ । स्वेच्छिक अवकासबाट केही कर्मचारी बाहिरिनसक्ने बताइएको छ ।
कम्पनी सञ्चालक समितिमा प्रत्येक कम्पनीमा दुई-दुई जनाका दरले सदस्य चयन हुनेछन् । कम्पनीको सञ्चालक समितिको अध्यक्ष भने पछि चयन हुने बताइएको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीमा हालको युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण प्रमुख कार्यकारी अधिकृत रहने सहमति छ । गुराँस लाईफका सीइओ विपिन कर्ण र प्राइमका सीईओ निर्मल दाहाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहने छन् ।
मर्जरपछि बन्ने हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब ८२ करोड रुपैयाँ नजिक पुग्नेछ । हाल प्राइमको चुक्ता पुँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५२ करोड र यूनियनको २ अर्ब १५ करोड रुपैयाँ छ ।
मर्जर प्रकृयाले पूर्णता पाएपछि चुक्ता पूँजीका आधारमा हिमालन लाइफ इन्स्योरेन्स नेपाल लाइफ पछिको दोस्रो ठूलो कम्पनी बन्नेछ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै चुक्ता पुँजी रहेको छ । मर्जरपछि बन्ने कम्पनीको मुख्यालय नक्साल नागपोखरीस्थित हालको प्राइम लाइफको कार्यालय रहनेछ । हाल युनियनको नयाँ बानेश्वर, गुराँसको तीनकुने र प्राइम लाइफको केन्द्रीय कार्यालय नक्सालमा छ ।
हिमालयन लाइफ इन्स्योरेन्समा ठूला व्यवसायीक घरानाहरु जोडिएका छन् । हिमालयनमा राजेन्द्र खेतान, शंकर ग्रुप, शेखर गोल्छा, एमभी दुगड समुह एक ठाउँमा जोडिनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया