अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीति मार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मौद्रिक नीति मार्फत ब्याजदर घटाइने उल्लेख गरेका हुन् ।
“अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ”, उनले भने, “ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।” उनले राष्ट्र बैंकले यसलाई गम्भीरताका साथ लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गरे ।
राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार भएको भन्दै उनले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताए । मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताउँदै ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको उल्लेख गरे । अब मौद्रिक नीति मार्फत पुँजी प्रवाह जरुरी रहेको महतले बताए । “यसबाट उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।” उनले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताएका थिए ।
‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून छ । अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ । हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ । सबै क्यिलयरेन्स नभइ ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसे, काम अगाडि बढ्दैन’ उनले भने, साइट क्लियरेन्स नहुँदा यो समस्या आउँछ । वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न सकेको छैन । त्यसले गर्दा पूँजीगत खर्चमा समस्या आएको हो । अबका आयोजनाहरु यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ । वर्षको अन्तिम त्रयमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्परा छ, यसरी हुँदैन । पहिलो दिनबाटै हामीले काम सुरु गर्नुपर्छ भनेर हामीले सबै मन्त्रालयका साथीहरुसँग कुरा गरिरहेका छौं ।’
उनले भने, ‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छ । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन । समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु । कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु ।’
‘यो एउटा गाडी कुदेजस्तै हो, गाडीमा, स्टेरिङ राम्रो भएर मात्र पुग्दैन, पाङग्रा वा अन्य सामाग्री मात्र राम्रो भएर पुग्दैन, यसमा सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा ग¥यो भने मात्र गाडी गन्तव्यमा पुग्न सक्छ, मन्त्री डा। महतले भने, ‘देश चलाउन पनि सम्पूर्ण संयन्त्र एकाकार भएर अघि बढ्नुपर्छ । एउटै लक्ष्य छ, सबैको आ–आफ्नो जिम्मेवारी छन्, यो जिम्मेवारी पूरा गर्ने मान्यताका साथ लाग्यौं भने हामी लक्ष्यमा पुग्छौं ।’
मन्त्री डा. महतले भने, ‘राज्य संयन्त्रमा समस्याहरु छन्, यी समस्यालाई सम्बोधन गर्न र छन् भनेर स्वीकार गर्न मलाई कुनै हिचकिचावट छैन । यी समस्यालाई हटाउने सुरुवात गर्न जरुरी छ । ०४६ सालको परिवर्तनपछि देशमा धेरै कुरा भएको छ । अहिले सामाजिक सञ्जालको समय छ, संसार सबैको हात–हातमै छ । हामी कुन आधारबाट अघि बढ्यौं, त्यो सुन्ने धर्यता कसैलाई पनि छैन । अरु देशमा यो भइसक्यो, नेपालमा किन नभएको भन्ने चासो सबैलाई छ, हामी कहाँबाट आयौं, त्यो कसैलाई चासो छैन । त्यो अनुसारको परिणाम हामीलाई नेपालको राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न गरिरहेका छन् ।’
‘यो चुनौति पार गर्नका लागि हामी संयम भएर काम सुरुवात गर्नैपर्छ । हामीसँग यी समस्या छ, यति साधन छ, यी साधनश्रोतबाट हामी यी काम गर्दैछौं’ मन्त्री डा। महतले भने, ‘कामप्रति हामी जति गम्भीर हुनुपर्ने हो, त्यति नभएका छैनौं । अब हामी कुरा कम र काम ज्यादा गर्नुपर्छ । निजी क्षेत्रले आफ्नो समस्याको जगमा पुगेर बुँदागत रुपमा कारण र नतिजा उल्लेख गर्नुस्, अब यी कुरा हटाउनुपर्छ भन्ने सुझाव सल्लाह दिनुहोस ।
‘औद्योगिक प्रारम्भ भएको ठाउँ हो– विराटनगर । प्रतिनिधिमुलक सल्लाह सुझाव हुन्छ भनेर म यहाँ आएको हुँ’, मन्त्री डा। महतले भने, ‘प्रत्यक्ष रुपमा सल्लाह सुझाव राख्न नसक्ने साथीहरुका लागि यहाँका प्रतिनिधिमूलक संस्थाबाट ती विचार र सुझावको प्रतिनिधित्व भएको छ भन्ने मलाई विश्वास छ ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया