काठमाडौंको थानकोटमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी विद्यार्थी बोकेको बस चलाउने सहित ४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३ (०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङको गल्छी गाउँपालिका ९ का चन्द्र बहादुर तामाङ, ग १ य ११ १२ नम्बरको पर्यटक गाडी चालक गल्छी गाउँपालिका ६ का दिर्घ बहादुर मग्राती, बा १६ च ९३ ६९ नम्बरको कार चालक गल्छी गाउँपालिका ३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका राजु तामाङलाई लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले शुक्रबार २० ओटा सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालक फेला पारेको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने बताए । उनले लागूपदार्थ सेवन गरी विद्यार्थी बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउनु निन्दनीय कार्य भएको र यसरी भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकहरूलाई अनुरोध गरेका छन् ।
चोरीको मोटरसाइकल सहित एक नियन्त्रणमा
चोरीको मोटरसाइकल सहित काठमाडौंको तार्केश्वर नगरपालिका ५ लोलाङबाट एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका ५ घर भई हाल काठमाडौँको सितापाइला बस्दै आएका २८ वर्षीय कुल बहादुर मगरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । तार्केश्वर नगरपालिका ३ बस्ने अर्जुन रेग्मीले गत चैत ५ गते काठमाडौंको चमतीबाट प्रदेश ३ (०२(०१० प ७४१५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
बास्तबिक नम्बर परिवर्तन गरि प्रदेश ३ (०२(००३ प १२ १६ राखी चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले मगरलाई मोटरसाइकल सहित फेला पारी लोलाङबाट आज बिहान नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजु पठाईएको छ । सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया