बाल अस्पताललाई कांग्रेस नेता रिजालको ५० लाख सहयोग

0
Shares

नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई ५० लाख रुपैयाँ प्रदान गरेका छन् ।

आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसन मार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरेका हुन् ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका रिजालले बाल अस्पताललाई सहयोग पुर्‍याउन आफूले स्वेच्छिक सहयोग पुर्‍याएको बताए ।

उनले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले त्यसअघि अस्पतालको स्थलगत निरीक्षण समेत गरेका थिए । सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

कार्यक्रममा डा. कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पु¥याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक–एकवटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको सो अस्पतालमा बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रूपमा यसले सेवा पुर्‍याउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।