ईङवा हाइड्रोपावरको आइपीओ भर्न छुट्यो कि !

Archana Neupane
0
Shares

ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले २ लाख ६८ हजार ६३९ कित्ता सेयर बैशाख १३ गतेदेखि सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । त्यसमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँड नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा आज १७ गते कार्यालय समयभित्र आवेदन दिनु पर्ने छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लगि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कम्पनीको बारेमा

कम्पनीले प्रबर्धन गरिरहेको माथिल्लो इङ्वाखोला साना जलविद्युत आयोजना (९.७ मेगावाट) को प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ ।

चालु आवकोे पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २५ पैसा रहेको छ । आगामी तीन आर्थिक वर्षपछि २०८१।८२ सम्म कम्पनीले सञ्चित नाफा २१ करोड १५ लाख ७१ हजार रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा कायम गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको कुल अनुमानित लागत भने १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहा अवधि ३१ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५।५५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.४० वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।