कमजोर वित्तीय अवस्थाको दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद बेच्ने

0
Shares

वित्तीय अवस्था धरासायी रहेको दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुबाट शतप्रतिशत हकप्रद बिक्री गरेर रकम संकलन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट उठेको रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिने जनाएको छ ।

कम्पनी सञ्चालक समितिको असार १० गते बसेको बैठकले चुक्ता पुँजीको १०० प्रतिशत (१ः१ अनुपात) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले पुँजी बराबर नै २६ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद जारी गर्न खोजेको हो।

सञ्चालक समितिको बैठकले निर्णय गरेपनि उक्त हकप्रदलाई नियमनकारी निकायहरुबाट अनुमति प्राप्त भएपछि मात्र बिक्री गर्न पाइन्छ । कम्पनीको वित्तीय अवस्था संकटग्रस्त भएकाले कम्पनीले हकप्रद बेच्न अनुमति पाउने नपाउने अहिले नै यकिन गर्न सकिने अवस्था छैन।

चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्म कम्पनीको सञ्चित जगेडा नोक्सानी बढेर २४ करोड ६२ लाख २६ हजार पुगिसकेको छ । कम्पनीको चुक्ता पुजी २६ करोड ४० लाख रहेकोमा १ करोड ७८ लाख मात्र पुँजी रहँदा हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ६ रुपैयाँ ७३ पैसा मात्र रहेको छ । यसअनुसार आफ्नो पुँजीको ९३ रुपैयाँ २७ पैसा गुमाइसकेको सेयरधनीले हकप्रद किन्न तयार होलन् कि नहोलान् भन्ने विषय सोचनिय छ ।

कम्पनीले चैत मसान्तसम्ममा ६ करोड ५९ लाख ३२ हजारको विद्युत बिक्री गरेको भएपनि कर्मचारी खर्च, ह्रासकट्टी र वित्तीय खर्च तथा करपछि २ करोड ३४ लाख नोक्सनी ब्यहोरेको छ । यससँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६६ पैसा ऋणात्मक छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पुर्वस्वीकृति लिएर वार्षिक साधारण सभाबाट अनुमोदन गराउनुपर्ने हुन्छ । साधारण सभाबाट अनुमति पाएपनि त्यसपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद बिक्रीमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।