निर्माण क्षेत्रका सिमेण्ट, इँटा, पाइप तथा डण्डी उद्योगले पनि ऋण पुनरसंरचना गर्न पाउने

Parmeshwor Adhikari
0
Shares

नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रका उद्योगहरुलाई पनि ऋण पुनरसंरचना गर्न पाउने व्यवस्था गरेको छ । यस अघिको व्यवस्थामा सिमेण्ट, इँटा, पाइप तथा डण्डी लगायतका उद्योगलाई यस्तो सुविधा पाउनेको सूचीमा नराखेको राष्ट्र बैंकले व्यवस्थालाई थप प्रष्ट पार्दै पुनरसंरचनाको सुविधा पाउने व्यवस्था गरेको हो ।

बैंकहरुको ऋण असुलीमा परेको चापलाई हेरेर केन्द्रय बैंकले यस्तो व्यवस्था गरेको हो । पुनरसंरचनाको सुविधा वास्तविक पीडितले पाउन नसकेको अवस्थामा बैंकले गरेको यो व्यवस्थाले धेरै उद्योगलाई राहत हुने भएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले तीन क्षेत्रलाई मात्र १० प्रतिशत ब्याज भुक्तानीपछि ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो । जसका कारण समस्यामा परेका उद्योगहरुलाई उक्त व्यवस्थाबाट कुनै राहत पाउन सकेका थिएनन् । शुक्रबार राष्ट्र बैंकले उक्त लाई थप प्रष्ट पारेसँगै अब सिमेण्ट, इँटा, पाइप तथा डण्डी उद्योगलाई राहत हुने भएको हो ।

“अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेस्टुरेन्ट, पशुपक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचनारपुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ,” चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामा भनिएको थियो ।

“उक्त व्यवस्थाको प्रयोजनको निम्ती निर्माण क्षेत्र अन्तरगत आवासीय (घरायसी प्रयोजन), गैरआवासीय (व्यवसायिक प्रयोजन) र बृहत निर्माण (राजमार्ग, पूल आदी) क्षेत्रमा प्रभावित कर्जाका साथै यस क्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित सिमेन्ट, डण्डी, इँटा ब्लक, पाइप्स एण्ड फिटिङ्स लगायतका उद्योगमा प्रभावित कर्जा समेत पर्दछन्,” शुक्रबार थप प्रष्ट पार्दै राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशनले निर्माण भनेर सीमित क्षेत्र मात्र समेटेकोमा अब सिमेन्ट, डण्डी, इँटा ब्लक, पाइप्स एण्ड फिटिङ्सलाई पनि समेटिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।