रावा इनर्जी र मोदी इनर्जीको आईपीओ कारोबार अर्को सातादेखि खुल्दै

0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अर्को सातादेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ ।

केही समयअघि सर्वसाधारणमा आईपीओ जारी गरेका यी दुबै कम्पनीले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सेयर सूचीकृत गराएपछि दुबै कम्पनीको स्टक आईपीओ प्राप्त गरेका सम्बन्धीत सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भैसकेको छ ।

दुबै कम्पनीको आईपीओ असार १३ गते बुधबार डिम्याट खातामा जम्मा भएको हो । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ आरएडब्लूए (RAWA) र मोदी इनर्जी लिमिटेडको एमईएल (MEL) सिम्बोलमा जम्मा भएको हो । यससँगै अबको सातामा दुबै कम्पनीले नेप्सेमा सेयर सूचीकरण सम्झौता गरेको दोस्रो कारोबार दिनदेखि नेप्सेमा खरिद बिक्रीमा आउनेछ ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले जारी पुँजीको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता र मोदी इनर्जी लिमिटेडले जारी पुँजी २ अर्ब ९० करोडको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका थिए ।

रावा इनर्जीले जेठ १८ देखि २२ गतेसम्म सर्वसाधरणमा ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरी जेठ ३० गते गरेको आईपीओ बाँडफाँडमा ६४ हजार ३५९ जनाले १० कित्ताका दरले र ७ जनाले ११ कित्ताका दरले आईपीओ सेयर प्राप्त गरेका थिए । कम्पनीले जारी गरेको सेयरमध्ये स्थानीय बासिन्दाका लागि ८७ हजार ६७० कित्ता, सामुहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता, कर्मचारीका लागि १५ हजार ४७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ५६ हजार कित्ता सेयर बाँडफाँड गरिएको थियो ।

यस्तै मोदी इनर्जीले बैशाख १९ देखि २४ गतेसम्म सर्वसाधरणमा ५६ लाख १२ हजार २६० कित्ता सेयर निष्कासन गरी बैशाख ३१ गते गरेको आईपीओ बाँडफाँडमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले आईपीओ सेयर प्राप्त गरेका थिए । कम्पनीले जारी गरेको सेयरमध्ये स्थानीय बासिन्दाका लागि ८ लाख ४ हजार ३९० कित्ता, सामुहिक लगानी कोषका लागि ३ लाख २२ हजार २८० कित्ता, कर्मचारीका लागि ७६ हजार ७० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार कित्ता सेयर बाँडफाँड गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।