नेशनल हाइड्रोपावरको हकप्रद सेयर निष्काशन, कस्तो छ कम्पनी ?

Archana Neupane
0
Shares

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीको हकप्रद सेयरमा साविक सेयरधनीहरुले असार २९ गतेदेखि साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्ने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कस्तो छ कम्पनी

हाल नेशनल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ । हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ पुग्नेछ । नेशनल हाइड्रोपावर २०५२ साल पौष १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा यो कम्पनी स्थापित भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय नयाँ बानेश्वरमा रहेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीमा ७.५ मेगावाटको ईन्द्रावती ३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

त्यसैगरी, २०७८ सालमा सोही नदीमा ४.५ मेगावाटको तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको इजाजत पत्र लिई निर्माण कार्य अघि बढाइएको छ। भोजपुर जिल्लामा १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम सेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी मार्फत भइरहेको छ।

कम्पनीको २५ औँ वार्षिक साधारण सभाले सुनकोशी हाइड्रो पावरलाई १ बराबर ०.२५ अनुपातमा प्राप्त गरेको थियो। प्राप्तिपश्चात कम्पनीले २०७९ असोज १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको थियो। सो कम्पनी मार्फत कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेपश्चात सो आयोजनाको निर्माणको लागि लगानी भएको ऋण समेत नेशनल हाइड्रोपावरले भुक्तानी गरेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।