सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज (साउन ११ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि साउन १२ गते शुक्रबार बुकक्लोज मितितोकेको छ । बुकक्लोज अनुसार साउन ११ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १ः०.५ को अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
सिनर्जी पावरले नेपाल धितोपत्र बोर्डबाट असार २० गते हकप्रद निष्कासन गर्न स्वीकृति पाएको थियो । यस्तै विद्युत नियमन आयोगले गत माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको थियो । कम्पनीको आर्थिक वर्ष २०७७–७८ को साधारणसभाले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ ।
हकप्रद निष्कासनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
हकप्रद निस्काशनबाट संकलन हुने रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेको एपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने कम्पनीले जनाएको छ । एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको मध्य होङ्गु खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजना ३ वर्षमा सम्पन्न गरि विद्युत उत्पादन सुरु गर्ने कम्पनीको तयारी छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया