मध्य भोटेकोशीको नोक्सानी करिब एक करोडले सुधारियो

0
Shares

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आम्दानी बढेपछि नोक्सानीमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ३५ लाख ८७ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनी गत आवमा ३ करोड ४४ लाख ७ हजार रुपैयाँ नोक्सानीमा छ । एक वर्षमा कम्पनीको नोक्सानी ९१ लाख ८० हजार रुपैयाँले सुधारिएको हो ।

हालसम्म विद्युत बिक्रीबाट आम्दानी गरिनसकेको कम्पनीको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय आम्दानी बढेर ३ करोड ६९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको कुल आम्दानी ३ करोड ७० लाख ४७ हजार रुपैयाँ छ । आम्दानी बढेसँगै कम्पनीको नोक्सानीमा पनि सुधार भएको हो ।

मौज्दातमा भएका छोटो अवधिका लागि विभिन्न बैंकहरूमा मुद्दती खाताखोली २१ करोड रुपैयाँ मौज्दातजम्मा गरेको छ । यसबाट प्राप्त रकमलाई व्याज आम्दानी र टेण्डर फर्म बिक्री र यस्तै प्रकृतिबाट प्राप्त हुन आएको रकमलाई अन्य आम्दानी अन्तर्गत राखिएको छ । असार मसान्तसम्म ३ करोड ५२ लाख २९ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको भोटेकोशीको असार मसान्तसम्ममा कम्पनीको सञ्चालन घाटा ५ करोड ३३ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

कर्मचारी सञ्चय कोषबाट लिइएको कर्जाको व्याज रकमलाई चालू पुँजीगत खातामा देखाइएको र साँवा व्याज गरी कुल रकमलाई दीर्घकालीन कर्जीमा देखाइएको छ । सञ्चय कोषले प्रत्येक तीन–तीन महिनामा व्याजलाई पुँजीकरण गर्ने गरेको छ । कम्पनीले दीर्घकालीन दायित्व ११ अर्ब ५१ लाख ३९ हजार रुपैयाँ छ ।

चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ३८ करोड ११ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएनुसारका सम्पूर्ण ६ करोड कित्ता सेयरहरु जारी ६ अर्ब पूँजी संकलन भई आयोजनामा लगानी भई सकेको छ ।

समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५७ पैसा ऋणात्मक रहँदा प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ६५ पैसा कायम भएको छ । चुक्ता पूँजीबाट वासलातमा देखाइएको सञ्चित नोक्सानीलाई घटाएर आएको रकमलाई सेयर कित्ताले भाग गर्दा आउने भागफललाई नेटवर्थ मानिएका कारण सेयरको किताबी मूल्य १०० रुपैयाँबाट घट्न गई ९३ रुपैयाँ ६५ पैसा कायम भएको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका (तत्कालीन मार्मिङ र गाती गाविस भएर बग्ने भोटेकोशी नदीको जलसम्पदा प्रयोग गरी १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको कार्य अगाडि बढाइरहेको छ । मुख्यतः तीन भागमा विभाजन गरी निर्माणको चरण भैरहेकाे छ । अबभने केही महीनाभित्रमै आयोजना विद्युत उत्पादन हुने चरणमा पुगेकाे छ ।

कम्पनी मार्फत हुने खर्चहरू मध्ये कम्पनीको केन्द्रीय कार्यालयमा हुने प्रशासनिक खर्चलाई नाफा र नोक्सान हिसाबमा देखाउने र आयोजनामा भएको खर्चलाई पूँजीकरण गरी चालू पुँजीगत कार्यमा देखाइएको छ । लगिएको आयोजनाका कामहरूलाई सोही अनुसार कार्य अगाडि बढाइएको छ । कम्पनीको नाफा र नगद प्रवाहमा प्रतिकूल असर पर्ने खालको घटना र अवस्था नदेखिएको कम्पनीले जनाएको छ । मानवीय नियन्त्रण भन्दा बाहिरको दैवी प्रकोपको असर भने सदा रहिरहने कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।