तामाकोशीले ऋण तिर्न भदौ १८ देखि साढे १० अर्बको हकप्रद बेच्दै, १५ वर्ष लाभांश नपाउने

Archana Neupane
0
Shares

अपर तामाकोशी हाइड्रोपावरले साढे १० अर्बको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको प्रति सेयर रकम सय रुपैयाँ अंकित दरको १० करोड ५९ लाख कित्ता साधारण सेयरको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १ बराबर १ सेयर (१ः१) का दरले सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको हकप्रदमा भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन दिनु पर्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

हाइड्रोपावरको असार २८ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर बिक्री प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार साउन २६ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । हकप्रद सेयर निष्काशनबाट आर्जन गरेको सम्पूर्ण रकम कम्पनीले ऋण तिर्ने भएको हो । नेपाल विद्युत प्राधिकरण, नबिल बैंक, हाइड्रोनेइलेक्टीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, रिटेन्शन मनी भुक्तानी, रोलवालिक खोला जलविद्युत आयोजना कम्पनीलाई ऋण तिर्ने छ । कम्पनीले अल्पकालिन ऋण ६ अर्ब रुपैयाँ लिएको छ भने दिर्घकालिन ऋण ७३ अर्ब १५ करोड रुपैयाँ गरी कुल ७९ अर्ब १५ करोड रुपैयाँ ऋण लिएको छ ।

सञ्चालित ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको उक्त आयोजनाले नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानी गर्नका लागि १५ वर्षे योजना अन्तरगत ३० वटा किस्ता वापत भुक्तानी गर्ने तालिका बनाएको छ । चैत मसान्तसम्ममा सरकारको दुई तथा अन्य संस्थाहरुको ५ कित्ता साँवाँ तथा ब्याज भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

हाइड्रोपावरले ७९ अर्ब १५ करोड ३८ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । कम्पनीले गत आवमा ८ अर्ब विद्युत बेचेको देखिन्छ । सो आधारमा सेयरधनीहरुले लाभांस पाउन १ दशक भन्दा बढी समय लाग्ने देखिएको छ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । वित्तीय खर्चमा भएको उच्च वृद्धिले कम्पनीको नोक्सानी गत आवको तुलनामा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँले बढेको हो । सो आधारमा कम्पनीको लाभांस पाउन १५ वर्ष कुर्नुपर्ने देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ थियो । ब्याज सहित ५० अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न हुँदा ९० अर्ब हाराहारी पुगेपछि कम्पनीको खर्च बढ्दो क्रममा देखिएको हो । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।