अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले साउन २४ गते बोर्डसँगै अनुमति मागेको हो ।
यसअघि कम्पनीले जलविद्युत कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगबाट जेठ ५ गते शुक्रबार उक्त अनुपातमा हकप्रद बिक्रीका लागि स्वीकृति पाएको थियो । कम्पनीले हकप्रद सेयरको निष्कासनका लागि पूर्व स्वीकृतिका लागि गत बैशाख ८ गते विद्युत नियमन आयोगसँग अनुमति मागेको थियो ।
यस्तै असार ७ गते सम्पन्न विशेष साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदनपछि कम्पनी हकप्रद स्वीकृतिका लागि धितोपत्र बोर्ड पुगेको हो । बोर्डबाट स्वीकृती पाएपछि हकप्रद मात्र कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र कम्पनीले बुकक्लोज तोकेर हकप्रद बिक्रीमा ल्याउनेछ ।
हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम कम्पनीले ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वस्पूँजीको लागि लगानी गर्नेछ । यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया