अपर तामाकोशीको साधारण सभा सम्पन्न

0
Shares

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले भदाै ६ गते बुधबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८–७९ को साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन,र लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८–७९ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ । त्यस्तै सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ । लेखापरीक्षकको रुपमा चार्टर्ड एकाउन्टेन्टहरु अनिल पौडेल र उमेश राज पाण्डेलाई नियुक्त गर्दै पारिश्रमिक २ लाख ८२ हजार ५०० रुपैयाँ दिने निर्णय गर्यो । 

साधारण सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८/७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ । आव २०७८/७९ मा आर्थिक सहयोग ६ लाख ६ हजार ३०० उपलब्ध गराइएको रकम अनुमोदन गरेको हाे ।  सभामा बोल्दै सेयरधनीहरुले कम्पनीको काम कारबाही माथि प्रश्न उठाएका थिए ।

कम्पनीले भदौ १८ गतेदेखि १ः१ को अनुपातमा प्रति सेयर १०० रुपैयाँको दरले १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन गर्दै छ । हकप्रदमा साउन २५ गतेसम्म कायम सेयरधनीले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।