एक अर्ब २० करोडको हकप्रद सेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार हिमाल दोलखा हाइड्रोपावरको चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर आज सूचीकृत भएको छ । हाइड्रोपावरले गत जेठ २२ गतेदेखि बैशाख २६ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउने गरी प्रतिसेयर १०० रुपेयाँ अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । सोही सेयर आज सूचीकृत भएको हो ।

बिहीबार हकप्रद सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले आफ्नो डिम्याट खातामा हकप्रद सेयर जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

कम्पनीले १ अर्ब ६० करोड चुक्ता पुँजीको ७५% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जेठ २२ देखि असार १० गतेसम्म निष्कासन गरेको थियो । हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले इलाम जिल्लामा ४.५ मेवाको माईखोला साना जलविद्युत आयोजना र ८ मेवाको माईखोला साना क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ । हकप्रदबाट संकलित रकम कर्जा भुक्तानीलाई उपयोग गर्ने छ । कम्पनीले कुल १ अर्ब ६६ करोड रुपैयाँ ऋण लिएको छ । यसबाहेक १६ करोड ८० लाखको दायित्व पनि भुक्तानी गर्ने र मर्मत सम्भारको ३ करोड १६ लाख रुपैयाँ तिर्ने कम्पनीले जनाएको छ ।

माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रुपैयाँ र माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।