जी–२० सम्मेलनपछि भारतीय सेयर बजारमा रौनक, ‘निफ्टी’ र ‘सेन्सेक्स’ हालसम्मकै उच्च विन्दुमा

0
Shares

उदीयमान राष्ट्रहरुको समूह जी–२० सम्मेलनपछि भारतीय सेयर बजारले एक पछि अर्को रेकर्ड कायम गरेको छ ।

साताको अन्तिम दिन शुक्रबार भारतीय सेयर सूचांक– सेन्सेक्स र निफ्टी दुबै ऐतिहासिक बिन्दुमा पुगेका छन् । सेन्सेक्स सूचांक शुक्रबार ३१९.६३ विन्दुले बढेर ६७ हजार ८३८ दशमलव ६३ को नयाँ बिन्दुमा पुगेको हो ।

अगस्ट ३१ तारिखमा ६४ हजार ८३१ अंकमा रहेको सेन्सेक्स सूचांक पछिल्लो ११ कारोबार दिनमा निरन्तर बढ्दा ३००७ अंक वृद्धि भई ६७ हजार ८३८ अंकमाथि पुगेको छ । यससँगै सेप्टेम्बर यता सेन्सेक्स सूचांक ४.६४ प्रतिशत विन्दुले बढेको हो । जसमध्ये पछिल्लो एक हप्तामा मात्रै सेन्सेक्स सूचांक १.४ प्रतिशत विन्दु उकालो लागेको हो ।

पछिल्लो समयमा भारतीय अर्थतन्त्र अन्य उदीयमान राष्ट्रहरुको तुलनामा सकरात्मक देखिएको छ । जसको प्रभाव सेयर बजारमा समेत परेको हो । सेन्सेक्स सूचांक मात्रै नभई निफ्टी ५० सूचांक समेत उच्च विन्दुमा पुगेको छ । शुक्रबार निफ्टी सूचांक २० हजार १९२.३५ अंकमा पुगी बन्द भएको छ । जुन हाल सम्मकै उच्च विन्दु हो । इन्ट्रा–डे कारोबारमा निफ्टी सूचांक २० हजार २२० अंकमा पुगेको थियो ।

सेन्सेक्स तथा निफ्टी दुबै सूचांक ऐतिहासिक विन्दुमा पुग्दा आईटी, अटो, बैंकहरुको सेयर बढेको हो । भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डियाले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतले पछिल्लो समयमा अमेरिका, मौरीसियस, बेलयात, जापान लगायतका देशहरुबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको छ ।

पछिल्लो समयमा भारतीय प्रधानमन्त्री–नरेन्द्र मोदीले लगानीकर्तालाई लगानी गर्नका लागि सहज वातावरणको निर्माण गरिरहेका छन् । जसकारण वैदेशिक लगानीकर्ताहरुको रुचि भारतीय सेयर बजारमा बढ्दै गएका छ । यससँगै सेन्सेक्स र निफ्टी दुवै सूचांक निरन्तर बढ्दै गएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।