सान्भी इनर्जीले ३८ करोडको आईपीओ ल्याउने

0
Shares

सान्भी इनर्जी लिमिटेडले ३८ करोड मूल्यको सार्वजनिक निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो । बोर्डका अनुसार कम्पनीले भदौ २७ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको छ ।

आईपीओ बिक्री गर्न कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको चयन गरको छ ।

सान्भी इनर्जी प्रालिले इलाम जिल्लामा जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । जोगमाई नदीको बहावको प्रयोगबाट ७.५ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । आयोजनाले २०७४ बैशाख १८ गतेदेखि विद्युत उत्पादन सुरु गरेको थियो ।

उत्पादित उक्त विद्युत काबेली करिडोरअन्तर्गत ३३ केभी प्रशारण लाइनबाट गोदकस्थित सवस्टेसनमा पुरयाइएको छ । कुल लागत १ अर्ब ५० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, लुम्बिनी विकास बैंक (तत्कालीन भिबोर सोसाइटी डेभलपमेन्ट बैंक) र प्राइम कमर्सियल बैंक ( तत्कालीन कैलाश विकास बैंक) ले ऋण लगानी गरेका छन् ।

माइजोगमाई गाउँपालिका ३ मा रहेको जोगमाई जलविद्युत आयोजनाको विद्युतगृहबाट निस्कने पानीलाई कनेक्टिङ च्यानलमार्फत् जोगमाई खोलाको दोभान नजिक निर्माण गरिने विद्युतगृहबाट बिजुली उत्पादन गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत ७ किलोमिटर लामो काबेली करिडोर अन्तर्गत ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत् इलाम नगरपालिकामा रहेको १३२ केभी क्षमताको गोदक सव–स्टेसनमा जोडिएकाे छ ।

उत्पादन अनुमतिपत्रको म्याद विसं २१०४ चैत २८ समाप्त हुनेछ । समयावधिपछि उक्त आयोजना सरकारी बनाइनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।