विद्युत प्राधिकरणद्वारा जलविद्युत प्रवर्द्धकलाई पिपिएका लागि आह्वान

0
Shares

नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता –पिपिए) गर्न जलविद्युत कम्पनीका प्रवर्द्धकलाई आह्वान गरेको छ ।

प्राधिकरणले विद्युत जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएको रोलक्रमका आधारमा नदी प्रवाही जलविद्युत आयोजना (आरओआर) र अर्ध जलाशययुक्त आयोजना (पिआरओआर) का प्रवर्द्धक लगानीकर्तालाई पिपिएका लागि बोलाएको हो ।

प्राधिकरण सञ्चालक समितिको निर्णय अनुसार आरओआर प्रकृतिका जलविद्युत आयोजनाहरुको माथिल्लो सीमा ६ हजार ७५० मेगावाटसम्म र पिआरओआरको ४ हजार ५०० मेगावाट नपुगेसम्मका लागि पिपिए खुला गरिएको जनाइएको छ । प्रवद्र्धकले आगामी ३५ दिनभित्र रितपूर्वक निवेदन दिनुपर्नेछ ।

प्राधिकरणले विद्युत जडान सम्झौता भई पिपिएको प्रक्रियामा रहेका आयोजना र विद्युत नियमन आयोगबाट पिपिएको मस्यौदामा सहमति प्राप्त भइ हस्ताक्षर गर्ने प्रयोजनको अख्तियारीका साथै परफरमेन्स बैंक जमानत र पिपिए शुल्क बुझाउन विद्युत व्यापार विभागबाट पत्राचार गरिएका प्रवर्द्धक कम्पनीसँग पिपिएका लागि आवेदन माग गरेको छ ।

तोकिएको समयभित्र निवेदन नदिएका र रितपूर्वक नआएका आयोजनालाई पिपिएको रोलक्रमबाट हटाइने पनि प्राधिकरणले जनाएको छ । त्यसपछि प्राधिकरणले रोलक्रमका आधारमा ग्रिड कनेक्सन भएका आयोजनाको पिपिए प्रक्रिया अघि बढाउने भएको छ । पिपिएको प्रक्रियाबाट हटेका आयोजनाको हकमा पछि निर्णय हुने प्राधिकरणले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।