तस्वीरः रोयटर्स
सामाजिक सञ्जाल ट्वीटर (एक्स) को स्वामित्व विश्वका शीर्ष धनाढ्यको सूचीमा रहेका एलन मस्कले लिएपछि ट्वीटरको आम्दानीमा निरन्तर गिरावट आएको छ । सन् २०२२ को अक्टोबर महीनामा मस्कले ट्वीटर अधिग्रहण गरेपछिको एक वर्ष अवधिमा सामाजिक सञ्जाल ट्वीटरको वार्षिक आम्दानी ५५ प्रतिशतले घटेको हो ।
सामाजिक सञ्जालहरुको गर्ने आम्दानीको मुख्य हिस्सा विज्ञापन हो । तथापि सामाजिक सञ्जाल विज्ञापनमा आधारित हुँदा असन्तुलित र भ्रामक सूचना सम्पे्रषण हुने विश्वास गर्ने मस्कले अधिग्रहणको केही समयपछि नै ट्वीटरको विज्ञापन नीति परिवर्तन गरे ।
उनले विज्ञापनको निर्भरता घटाउन प्रयोगकर्ताबाट नै शुल्क उठाउने नीति अंगिकार गरे । मस्कको नयाँ विज्ञापन नीतिबाट प्रयोगकर्ताका साथै विज्ञापनदाता समेत रुष्ट बनेका थिए । जसकारण बहुर्राष्ट्रिय उत्पादक कम्पनीहरु कोका–कोला, युनिलिभर, जीप, फोक्सवागन लगायतका अन्य ६२५ विज्ञापनदाताहरुले ट्वीटरमा गर्ने विज्ञापन घटाउँदै गएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार सन् २०२२ को अक्टोबर महीनामा मस्कले ट्वीटर अधिग्रहण गरेपछि मासिक ७८ प्रतिशत देखि ५७ प्रतिशतसम्म विज्ञापनबाट हुने आम्दानीमा गिरावट आएको छ । हाल ब्लूटिक प्रयोगकर्ताहरुले मासिक ८ डलर भुक्तानी गर्दै आएका छन् । भेरिफाइड ट्वीटरले प्रयोगकर्ताबाट लिने रकम पनि देश अनुसार फरक-फरक छ । ट्वीटरको सब्सक्रिप्सन लिनुपर्ने भएपछि ट्वीटरबाट अधिकांश ब्लूटिक अकाउन्टहरु हटेका छन् ।
विद्युतीय कार निर्माता कम्पनी–टेस्ला, स्पेसको बारेमा अध्ययन गर्ने यान पठाउने–स्पेस एक्स लगायतका विभिन्न कम्पनीहरु सफलता पूर्वक सञ्चालन गर्दै आएका र लगानीकर्ताहरुलाई राम्रो प्रतिफल प्रदान गरिरहेका मस्क ट्वीटरको मामिलामा चुकेका छन् । ट्वीटरको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहँदा कम्पनीको आम्दानी निरन्तर घट्दै गएपछि उनले आफू उक्त पदबाट बाहिरिएर सन् २०२३ को जुन महिनामा प्रमुख कार्यकारी अधिकृतको भूमिका लिन्डा याकारिनोलाई सुम्पेका हुन् । त्यसलगत्तै उनले ट्वीटरको लोगो नीलो चरा परिवर्तन गरी एक्स राखेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया