रेडक्रसको हमास र इजराइलसँग सम्पर्क

0
Shares

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ ।

गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिला सहित कम्तीमा १५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ ।

“तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौं”, निकट र मध्यपूर्वका लागि आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भने ।

अन्तर्राष्ट्रिय मानवीय कानून बमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्नुपर्ने बताए । आइसीआरसीले दुबै पक्षलाई नागरिकहरूको पीडा गर्न आग्रह गरेको छ ।

शनिबार हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजराइलले गाजामा लगातार आक्रमण गरेको छ र पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गर्दै २० लाख जनसङ्ख्या भएको गरिब क्षेत्रमा पूर्णतः घेराबन्दी गरेको छ । हमासले इजराइली आक्रमणमा ४ जना बन्धक मारिएको बताएको छ । साथै उसले बिना चेतावनीपूर्व नागरिकहरूमा लक्ष्य बनाएमा अरुलाई मार्ने चेतावनी दिएको छ ।

टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पनि बन्धकहरूको रिहाइका लागि हमाससँग वार्ता सुरु गरेको बुधबार सरकारी स्रोतले एएफपीलाई बताएको छ । शनिबारदेखि जारी युद्धमा दुवै पक्षका गरी हजारौँको ज्यान गएको छ । –रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।