इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन् ।
प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजराइलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजराइली समकक्षी बेन्यामिन नेतान्याहु र इजराइली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्नु हुने उनको कार्यालयले जनाएको छ ।
“प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतङ्कवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ”, रोयटर्सका अनुसार तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भने ।
यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्नुहुने पनि रोयटर्सले जनाएको छ ।
यसअघि सामाजिक सञ्जाल एक्समा सुनकले सयौँको ज्यान जाने गरी गाजाको अस्पतालमा भएको हमलाको निन्दा गरे । “अल अहबी अस्पतालको दृश्यबाट हामी सबै स्तब्ध भएका छौँ, हाम्रा जासुसी संयन्त्रले तथ्यहरूको स्वतन्त्ररूपमा स्थापित गर्न तीव्ररूपमा विश्लेषण गरिरहेको छ”, उनले भने । हरेक दिन युद्ध क्रुर हुँदै जाँदा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया