किन लगाइन्छ दसैंमा टिका र जमरा ? यस्तो छ महत्व

Archana Neupane
0
Shares

दसैंलाई बडा दसैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले चिनिन्छ । बडा दसैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने  गरिएकाे छ । यसलाई राष्ट्रिय चाडको रुपमा हेरिन्छ । दसै‌ आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको पर्व हो ।

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दसै‌ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । दसै‌लाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । यसैगरी दसै‌लाइ दुर्गा पूजाको रुपमा पनि हेरिन्छ ।

 दसै‌ हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसै‌को उत्सव-पर्व सुरु भएको हो ।

दसैंको टीकाकाे महत्व
दसैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट टिका लगाइद्न्छ जुन टिकाको पनि निकै महत्व छ । टिका जसलाई अक्षता पनि भनिन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्छ  ।  यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।

यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास गरिन्छ।  टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ ।

दसैंको आर्शिवादकाे महत्व 
दसैंमा टिका पछि  आशिष अर्थात आर्शिवाद दिने गरिन्छ । आर्शिवादले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । 

दशैमा टिका लगाउँदा पुरुषलाई दिने आशिष यस्तो छ

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥

यसको अर्थ 

द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनु । दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कीति वा प्रशिद्धि होस् । भन्दै मान्यजनवाट आशिर्वाद लिइन्छ।

दशैमा टिका लगाउादा महिलालाई दिने आशिष 

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

यसको अर्थ 

जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु।क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु।

दसैंको जमराको महत्व

दसैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू)का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ । गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ ।

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको हिसाबले यो निकै पौष्टिक मानिन्छ । यसमा औषधिय गुण पनि हुन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

दसैंको दक्षिणाको महत्व

दसैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धनस वा द्रब्य नै दक्षिणा हो ।  सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ ।  त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।