नेपालका लागि विस्तारित कर्जा सुविधाको तेस्रो किस्ता आइएमएफ बोर्डद्धारा अनुमोदन

Archana Neupane
0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा (इसिएफ) व्यवस्था अन्तर्गतको तेस्रो किस्ता अनुमोदन गरेको छ ।

यससँगै नेपालले आइएमएफबाट ५ करोड २२ हजार अमेरिकी डलर (अर्थात् ६ अर्ब ९७ करोड रुपैयाँ) ऋण सहायता प्राप्त गर्ने भएको हो ।

सेप्टेम्बर महिनामा टिडियन किन्डाको नेतृत्वमा आइएमएफ टोली नेपाल आएर तेस्रो किस्ताका लागि समीक्षा गरेको थियो । कर्मचारी तहमा आइएमएफ टोली र नेपाली अधिकारीबीच सम्झौता भएता पनि बोर्डले अनुमोदन नगर्दा ऋण अनुमोदन हुन सकेको थिएन । नोभेम्बर २९ मा आइएमएफ बोर्डले नेपालको प्रगति विवरणबाट सन्तुष्ट भएर तेस्रो किस्ताका लागि ऋण अनुमोदन गरेको छ ।

आइएमएफका कार्यकारी अध्यक्ष बो लीको नेतृत्वको आइएमएफ बोर्डले नेपालका लागि तेस्रो किस्ताको ऋण अनुमोदन गरेको हो । कर्जा सुविधाको कार्यान्वयन गर्दै नेपालले हालसम्म २२ करोड २५ लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा प्राप्त गरिसकेको छ । इसीएफ कार्यक्रमको कार्यान्वयन गर्दै नेपालले आन्तरिक तथा बाह्य वित्तीय झड्काको सामना, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न मदत गरिरहेको छ ।

यसका साथै यस कार्यक्रमको सफल कार्यान्वयनले नेपाललाई विकास साझेदारहरुबाट थप सहयोग प्राप्त गर्न समेत सहयोगी भूमिका खेल्नेछ । विवेकपूर्ण वित्तीय तथा मौद्रिक नीति, बढ्दो रेमिट्यान्स र बढ्दो पर्यटन गतिविधिले नेपालको बाह्य स्थिति बलियो बन्दै गएको आईएमएफले ठहर गरेको छ । आर्थिक वर्ष २०२३\२४ मा नेपालको आर्थिक वृद्धि ३.५ प्रतिशत प्रक्षेपण गरिएको छ । कमजोर आन्तरिक मागका कारण आर्थिक वृद्धि सुस्ताउन सक्ने सम्भावनालाई समेत आइएमएफले ध्यानमा राखेको छ ।

यस्तै मुद्रास्फीति नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले प्रयासरत रहेपनि सेप्टेम्बर महिनामा मुद्रास्फीति दर ८.२ प्रतिशत रहनु, रेमिट्यान्समा भएको वृद्धि र आयातमा गरिएको नियन्त्रणका बावजुद व्यापार घाटा बढ्दै जानु नेपाली अर्थतन्त्रका लागि जोखिम भएको आइएमएफको ठहर छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।