संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले शुक्रबार सिरियाका लागि करिब चार अर्ब डलरको मानवीय सहयोगको अपिल गरेका छन् । उनले कोष करिब अस्तित्वमा नभएको भन्दै सहयोगको कमीले थप सिरियालीहरूको पलायनलाई प्रेरित गर्ने चेतावनी दिए ।
तेह्र वर्षअघि सरकारविरोधी प्रदर्शनको दमनका साथ सुरु भएको सिरिया युद्धबाट पाँच लाख सात हजारभन्दा बढीको मृत्यु भएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र मुलुकको अर्थतन्त्र, पूर्वाधार उद्योग तहसनहस भएको छ ।
“सन् २०२४ मा हामीले सहायताको आवश्यकता भएका एक करोड ६७ लाख सिरियाली नागरिकमध्ये १ करोड ८ लाखको जीवन बचाउन सहयोग प्रदान गर्नका लागि ४ अर्ब ७ करोड डलरको अपिल गर्दैछौं”, सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका निवासी एवं मानवीय समन्वयक एडम अब्देलमौलाले भने, “मुलुकभरमा कम्तीमा एक करोड २९ लाख मानिस खाद्य असुरक्षामा छन् ।”
मार्च १ मा यस वर्षको मानवीय प्रतिक्रिया योजना आवश्यकताहरूको ‘केवल ०.०२ प्रतिशत’ कोषको व्यवस्था गरिएको भन्दै उनले यसको अर्थ ‘जीवन बचाउने कार्यक्रम र सेवाहरू’ मा कटौती गरिएको वा कम गर्दै गइरहेको छ भने । निष्क्रियताले कम्तीमा २५ लाख बालबालिकाले विद्यालयमा फर्कने अवसर गुमाउने छन् भन्दै अब्देलमौलाले प्रजनन उमेरका करिब २३ लाख महिलाले ‘महत्त्वपूर्ण प्रजनन र मातृ स्वास्थ्य सेवामा पहुँच गुमाउन सक्ने’ बताए ।
उनका अनुसार गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकू समूह हमाससँग इजराइलको युद्धका कारण वैश्विक ढुवानी अवरोधले सिरियामा वस्तुको मूल्यमा वृद्धि र मुलुकमा लक्ष्यहरूविरुद्ध इजराइली हवाई आक्रमणमा ‘उल्लेखनीय वृद्धि’ भएको छ ।
सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै इजराइलले सिरियामा सयौँ हवाई आक्रमण गरेको छ । यसमा हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थानहरूमा पनि निशाना बनाइएको छ । यद्यपि अक्टोबर ७ मा हिजबुल्लाहको सहयोगी हमाससँग इजराइलको युद्ध सुरु भएपछि आक्रमण बढेको छ ।
“सिरियामा विमानस्थालहरूमा निशाना बनाउँदा मानवीय हवाई सेवाहरूमा पनि असर परेको छ, गत वर्ष हामीले ४९ वटा मानवीय उडानहरू रद्द गर्नुपर्यो”, अब्देलमौलाले भने । उनले सिरिया सङ्कटलाई बेवास्ता गर्दा ‘आतङ्कवादको पुनरुत्थान’ र ‘शरणर्थी फिर्तीका लागि अनुकूल परिस्थिति सिर्जना नगर्दा’ लेबनान र जोर्डनजस्ता छिमेकी मुलुकलाई थप अस्थिर बनाउने जस्ता ‘विनाशकारी’ परिणामको सम्भावनाबारे चेतावनी दिए ।
उनले युरोपमा बसाइँ सर्ने सम्भावनाको वृद्धिबारे पनि चेतावनी दिए । उनका अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा सिरियाबाट शरणका लागि दिइएको निवेदनमा ‘३८ प्रतिशतले’ वृद्धि भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया