नेप्सेमा थप दुई लघुवित्तको सेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई लघुवित्त कम्पनीको धितोपत्र कारोबार रोक्का भएको छ । स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरु साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम दुबै संगठित संस्थाहरुको सेयर कारोबार असार ३० गते आइतबारदेखि लागू हुने गरी रोक्का गरिएको नेप्सेका सहायक महाप्रबन्धक सरिता पाण्डेयले जानकारी दिइन् ।

दुबै लघुवित्तले २०८१ असार २४ गते नेप्सेमा पत्राचार गर्दै असार ३० गतेदेखि एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको जानकारी गराएको थिए ।

एकीकृत कारोबार पश्चात दुबै लघुवित्तको सेयर स्वाप मिलान लगायतका कार्यहरु गर्नका लागि दुबै संस्थाहरुको धितोपत्र कारोबार कम्तिमा १५ दिनका लागि रोक्का भएको हो ।

गोरखाको हरमटारीमा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र तनहुँका डुम्रेमा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड १ः१ अनुपातमा मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले दुई कम्पनीलाई असार १३ गते मर्जरका लागि अन्तिम स्वीकृती दिएको थियो ।

मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ । एकीकृत कारोबार सुरू भएसँगै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् ।

यसअघि बुधबारमात्रै किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा लघुवित्त तथा गत आइतबार मनकामना स्मार्ट लघुवित्तको धितोपत्रको दोस्रो बजारमा मजएर तथा प्राप्ती कारण सेयर कारोबार रोकिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।