नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथदिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् । एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदैछन् ।
राप्रपा र जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएका छन् ।
दुबै दलको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
राप्रपाले कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।
यसैगरी यस अघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको सीके राउत नेतृत्वको जनमत पार्टीले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि मधेश प्रदेशको सरकार बचाउन नयाँ गठबन्धनमा लाग्ने संकेत गरेको छ । प्रतिनिधि सभामा जनमतका ६ सांसद रहेका छन् ।
अर्कोतर्फ कांग्रेस-एमालेबीचको सहमतिमा पनि ३–३ प्रदेश भागबन्डा गरेपनि मधेश प्रदेश मधेश केन्द्रित दललाई दिने सहमति गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया