निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त

0
Shares

निर्माण व्यवसायीहरूले ६० अर्ब रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति उत्पन्न भएको बताएका छन् ।

चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब रूपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीहरुले बताएका हुन्। नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । असार मसान्त भइसक्दासमेत सरकारले रकमान्तर र भुक्तानी फुकुवा नगरेका कारण ठूलो मात्राको रकम अझै निकासा हुन नसकेको हो ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भइ निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताए । ‘बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दबाब परेको छ’, अध्यक्ष सिंहले भने ।

आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चिता नभइ ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले दिएका कारण हजारौँ व्यवसायी प्रभावित भएका उनले बताए । यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको अध्यक्ष सिंहले बताए ।

विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै उनले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको उनले बताए । प्रधानमन्त्री र मन्त्रीहरूको पटक–पटकको प्रतिबद्धता विपरित असार मसान्तमा समेत अर्बौँ रकम भुक्तानी नपाएको उनीहरूको गुनासो छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।