कोपा अमेरिकाको फाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच भीडन्त

0
Shares

कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ५स् ४५ बजेदेखि हुँदै छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने कोलम्बियाले उरुग्वेलाई १(० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अहिलेसम्म १५ पटक कोपाको उपाधि जितेको अर्जेन्टिना योसहित ३०औ पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ । अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ । त्यस्तै अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन पनि हो । अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक २०२१ मा कोपा अमेरिका जितेको थियो भने अहिले लगातार दोस्रो पटक फाइनल खेल्दै छ ।

त्यस्तै कोलम्बिया भने २००१ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ । कोलम्वियाले २००१ मा मात्र एक पटक कोपाको उपाधि जितेको छ । त्यसअघि १९७५ मा फाइनलमा पुगेर पराजित भएको थियो । कोलम्बिया यो सहित तेस्रो पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ ।

अहिलेसम्म अर्जेन्टिना र कोलम्वियाबीच कुल ४२ खेल भएका छन् । जसमा अर्जेन्टिनाले २५ खेल जितेको छ भने कोलम्बियाले ९ खेल जितेको छ । त्यस्तै ८ खेल बराबरी भएका छन् । यी दुबैबीच पछिल्लो खेल २०२२ को फिफा विश्वकपमा भएको थियो, जसमा अर्जेन्टिना १-० ले विजयी भएको थियो ।

कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ । आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो । उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए ।

त्यसअघि कहल्को आठौ मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औं मिनेटमा इस्माएल कोने र खेलको ८०औं ब्मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो । यो हारसंगै क्यानडा भने चौथो भएको छ ।

अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।