एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त, सपथ भोलि बिहान ११ बजे

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

एमाले–कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारी अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेता शुक्रबार राति राष्ट्रपति निवास पुगेर प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण कार्यक्रम भने भोलि सोमबार बिहान ११ बजे का लागि तय गरिएको छ । सोमबार नै मन्त्रीहरु समेत नियुक्त गरेर सानो आकारको मन्त्रिपरिषद् गठन हुने एमालेले बताएको छ । नयाँ मन्त्रिमण्डलमा एमाले नेता विष्णु प्रसाद पौडेल र प्रकाशमान सिंह उपप्रधानमन्त्री बन्ने बताइएको छ ।

अहिलेसम्मको सहमतिअनुसार एमालेको भागमा अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग मन्त्रालय परेको छ भने कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ ।

एमालेबाट विष्णुप्रसाद पौडेल, योगेशकुमार भट्टराई, पृथ्वीसुब्बा गुरुङ, महेशकुमार बर्तौला, सुनिता बराल, सुहाङ नेम्वाङ लगायतको नाम चर्चामा छ । यता कांग्रेसबाट रमेश लेखक, आरजू राणा देउवा, प्रकाशमान सिंह, जीवन परियार, प्रदीप पौडेल र प्रतिमा गौतम लगायत मन्त्री बन्ने चर्चा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।