बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्न ईयू र बेलायतबीच वार्ता

0
Shares

बेलायतमा नयाँ सरकार गठन भएसँगै ब्रेक्जिटपछि खस्किएको युरोपेली सङ्घ (ईयू) र बेलायतबीच सम्बन्ध पुनःस्थापना गर्ने उदेश्यले दुई पक्षका शीर्ष अधिकारीहरूले सोमबार ब्रसेल्समा पहिलोपटक वार्ता गरेका छन् ।

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टारमरले युरोपेली सङ्घसँगको वर्षौंदेखि विवादित रहेको सम्बन्धलाई सुधार्ने वाचा गरेका छन् । यसै सन्दर्भमा ईयू सम्बन्धका लागी बेलायतका मन्त्री निक थोमस–साइमन्ड्सले ईयूका मारोस सेफकोभिकसँग वार्ता गरेका हुन् ।

“हामीले सम्बन्ध पुनस्थापना गर्ने कुरा गर्दा सुरक्षित र अधिक समृद्ध युरोप सिर्जना गर्न सुरक्षा र आर्थिक सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्यौं ”, थोमस–साइमन्ड्सले समाजिक सञ्जाल एक्समार्फत बताए । सेफकोभिकले बैठकलाई रचनात्मक भएको बताए । “हाम्रो सहकार्यको लागि तत्पर छौं”, उनले भने ।

बेलायतका नयाँ प्रधानमन्त्रीले युरोपेली सङ्घसँगको व्यापार द्वन्द्व कम गर्ने वाचा गरेका छन् । तर आफ्नो सरकारले ब्रेक्सिटलाई नउल्टाउने र युरोपेली एकल बजारको हिस्सा नबन्ने कुरामा अडिग रहेको जानकारी दिए । युरोपियन सङ्घले सम्बन्ध सुधारको उदेश्यले लन्डनबाट आएको प्रस्तावमा विचार गर्न इच्छुक रहेको बताएको छ । साथै बेलायतलाई सङ्घबाट बाहिर निस्कन कठिन ढङ्गले भएको वार्ताका सम्झौताहरू पुनः खोल्न इच्छुक नरहेको जनाएको छ ।

प्रधानमन्त्री स्टारमरले बिहीबार बेलायतको ब्लेनहेम प्यालेसमा हुने बैठकमा युरोपभरका नेताहरूलाई आमन्त्रित गरेका छन् । उक्त सम्मेलनले नयाँ प्रधानमन्त्रीलाई युरोपेली सङ्घका समकक्षीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गर्ने प्रमुख मञ्च प्रदान गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।