बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान

0
Shares

बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् । 

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् । नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । लामालाई मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेस संसदीय दलको निर्याय भईसकेको छ । उनलाई नेकपा एमालेको समर्थन रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले यहाँ मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्ने तयारी गरेका हुन् ।

“दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, लामाले भने, “कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।”

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरू भइसकेकाले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा कांग्रेस नेता लामाले दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।