भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्काः सभापति लामिछाने

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उनले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गरे ।

उनले भने, “जहाँ जहाँ हामीले भ्रष्टाचारका विषय उठायौं त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो । त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशङ्का छ ।” सभापति लामिछानेले सदनका दुई ठूला राजनीतिक दलबीचको समीकरणले लोकतन्त्रको मूल्य र मान्यता जोगाउन सक्नुपर्नेतर्फ सचेत गराए । उनले सदन आरोप प्रत्यारोप र हिलो छ्याप्ने थलो बनेको गुनासो गरे । सभापति लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई बिनाप्रमाण मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाए ।

“उपसभामुख इन्दिरा राना मगरलाई एउटा विषय आउने बित्तिकै यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी हामी निर्मम भयौं”, उनले भने, “विरोध गर्नूस, पाइन्छ । विषय उठेको छ तर प्रमाणित भएको छैन ।”

निवर्तमान उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिँदै सरकारले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन गर्नेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले रास्वपा सक्षम प्रतिपक्ष बन्ने दाबी समेत गरे।

राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवारः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवार रहेको आरोप लगाए । समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको उल्लेख गर्दै उनले ठूला दल यसतर्फ गम्भीर नहुँदा समस्या आएको बताए ।

अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरुमा आफ्नो सहमति नभएको धारणा राखे । पछिल्लो राजनीतिक अवस्थाका कारण जनतामा दल र नेताप्रति सकारात्मक नभएको तर्क गरे ।

सांसद लिङ्देनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्रै मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने आवश्यकता औँल्याए । उनले आफ्नो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने संसद मार्फत जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।